इलाम, ५ असारः नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् । इलाम सदरमुकाममा सोमबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले चुनाव सार्नुपर्ने कुनै कारण नभए पनि सरकारको लाचारीले पटक–पटक मिति परितर्वन गरिएको बताए । ‘मधेसका दुई–चार जना नेताको अघि सरकारले लाचारीपन देखायो’ उनले भने । पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गरे । जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै उनले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्न माग गरे ।
