इलामका स्वास्थ्य संस्थाहरुको स्थिति सन्तोषजनकः अध्ययन प्रतिवेदन

इलाम : इलामका स्वास्थ संस्थाहरुमा निशुल्क औषधिहरुको उपलब्धता सन्तोषजनक रहेको छ । इलामका ३० वटा स्वास्थ्य संस्थाहरुमा २ महिना समय खर्चिएर गरिएको अध्ययनबाट यो तथ्य बाहिर आएको हो । अध्ययनले इलामका स्वास्थ्य संस्थामा रहेका जनशक्तिहरु माथि स्थानीयको भरोसा र विश्वास रहेको पनि जनाएको छ । अध्ययनले मौजुदा जनशक्तिले प्रदान गरेको सेवा प्रति सामुदायिक सन्तुष्टि कायम रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । सामाजिक सेवाका हकमा नेपाल सरकारले लागु गरेको तेश्रो पक्षले गर्ने सामाजिक परिक्षणको क्रममा इलाम जिल्लाको स्वास्थ्य संस्थाहरुमा गरेको अध्ययन प्रतिवेदनले ति तथ्यहरु उजागर गरेको हो । आर्थिक वर्ष २०७३÷७४ मा ती स्वास्थ्य संस्थाले दिएको सेवा, त्यहाँ भएका मौजुदा व्यवस्थाका आधारमा कर्मचारी तथा सेवाग्राहीहरुसँगको अन्तरक्रिया, छलफल र लेख्यपत्रिकरण गरि अद्यावधिक गरिएको तथ्यांकको आधारमा प्रतिवेदन तयार गरिएको हो ।
सामाजिक परिक्षणको जिम्मा पाएको नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) इलामले ८ जना प्राविधिक र अप्राविधिक जनशक्ति प्रयोग गरि सामाजिक परिक्षण सम्पन्न गरेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयको क्षेत्राधिकार भित्र सेवा प्रदान गरिरहेका उपपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र गरि ३० वटा संस्थाहरुको सामाजिक परिक्षणका क्रममा तयार गरिएको उक्त प्रतिवेदनमा जिल्ला जनस्वास्थ्य कार्यालयले सुधार गर्नुपर्ने पक्षहरुको विषयमा समेत अवगत गराएको छ । सदरमुकाममा सोमबार आयोजित सामाजिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रममा एनसीडीसी इलामका प्रकाश खतिवडाले पावर पोइण्ट प्रस्तुति गर्दै अध्ययनका लागि लिइएका ती स्वास्थ्य संस्थाहरुमा पूर्वाधारको तयारी गर्नुपर्ने तथा आवश्यक औजार र उपकरणहरुको व्यवस्थापनमा जोड दिनुपर्ने सुझाएका थिए । उनले उदाहारण दिदै भने, ‘बर्थ सेन्टर खोलिएका स्वास्थ्य संस्थाहरुमा बच्चालाई आवश्यक सामान्य नेवुलाईजर पनि पाईएन ।’ उनले ती स्वास्थ्य संस्थाहरुमा महिलामैत्री स्वास्थ्य सेवा अवसरको पनि विकासमा जिल्ला जनस्वास्थ्य कार्यालयले जोड दिनुपर्ने फाइण्डिङ्स रहेको बताए । सामाजिक परिक्षणको लागि जिल्ला जनस्वासथ्य कार्यालयले ३ लाख ७ ५ हजार खर्चिएको कार्यालयका जिल्ला जनस्वास्थ्य निरिक्षक महेश चौधरीले जानकारी दिए । प्रतिवेदनमा उल्लेख भएका विषयबस्तुमध्ये राम्रा कुराहरुलाई निरन्तरता दिने र सुधार गर्नुपपर्ने विषयबस्तुलाई गम्भीरतापूर्वक लिएर सुधार गरिदै लगिने जिल्ला जनस्वास्थ्य कार्यालय इलामका प्रमुख जीवनकुमार मल्लले बताए । कार्यक्रमको अध्यक्षता गरिरहेका स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्काले सामाजिक परिक्षणको सार्वजनिकिकरण कार्यक्रमको गहनतालाई ध्यान दिनुपर्ने सुझाव दिदै स्थानीय निकायमा जनप्रतिनिधि आएपछि प्रतिवेदनको सारलाई अझ प्रभावकारी ढङ्गले अगाडी बढाएर लैजान मदत पुग्ने विश्वास ब्यक्त गरे ।

 ‘ध्रुमपान र सुर्ती प्रयोगकर्तालाई कारबाही गर्न साइत कुर्नु नपर्ने’

सार्वजनिक स्थलमा ध्रुमपान गर्ने, सुर्तीजन्य वस्तु प्रयोग गर्ने र अनुमति नलिई बिक्री वितरण गर्नेलाई कारबाही गर्न साईत कुरिरहनै नपर्ने एक बैठकका सहभागीले बताएका छन् । नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन नै जारी गरिसकेको अवस्थामा कानुन उल्लङ्घन गर्नेलाई सोझै कारबाही गरे सार्वजनिक स्थलमा धुम्रपान गर्ने, सुर्तीजन्य बस्तु प्रयोग गर्न कमी आउने सहभागीहरुले विश्वास व्यक्त गरे । बैठकले इलाम जिल्लामा सुर्तिजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा लापरवाही भएको भन्दै सोको नियन्त्रण र कानुनको प्रभावकारी कार्यान्वयनको लागि अनुगमन गर्ने निर्णय समेत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको सुर्तीजन्य वस्तु नियन्त्रण तथा नियमन समिति इलामले सो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पर्वत पोर्तेलको अध्यक्षतामा बसेको बैठकले इलाम नगर क्षेत्र, फिक्कल, पशुपतिनगर, कन्याम, हर्कटे, पालटाङ्गे, कोल्बुङ, राँके, रक्से, विब्ल्याटे लगायतको बजार क्षेत्रमा अनुगमनलाई तिब्र बनाउने निर्णय गरेको हो । बैठकले इलामका महत्वपूर्ण र आवश्यकीय क्षेत्रमा स्मोकिङ जोनको समेत विकास गर्दै लैजाने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरिक्षक महेन्द्र श्रेष्ठले सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्नेलाई तत्काल कारबाही अगाडी बढाउने प्रतिवद्धता बैठकका क्रममा जनाएका थिए । समाजिक अगुवा धर्म गौतमले सुर्तीजन्य वस्तु प्रयोग नियन्त्रणको लागि सामाजिक रुपमा पनि ‘विहेभियर चेञ्ज’का लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए । विगतका दिनमा पनि इलाम नगरपालिकाले सुर्ती नियन्त्रणको लागि पहल गरेको भन्दै इलाम नगरपालिकाका अधिकृत राम शाहले नगर क्षेत्रको हकमा बजेट नै विनियोजन गरि कार्यक्रम सञ्चालन गरिने बताए । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनमा सम्पन्न बैठकमा जिल्ला जनस्वस्थ्य अधिकृत जीवनकुमार मल्लले नसर्ने रोगका कारण ६१ प्रतिशतले मृत्युवरण गरिरहेको तथ्य स्मरण गराउदै सुर्तीजन्य बस्तुको प्रयोग नियन्त्रणमा सबै गम्भीर भएर लाग्नुपर्ने धारणा राखे । विगतका वर्षहरुमा इलाम जिल्लालाई सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग नहुने जिल्लाको रुपमा देशभरनै चिनाइसकेपनि पछिल्लो समयमा त्यो क्रमभङ्ग भएकोले विषयबस्तु गम्भीर र सोचनीय भएको भन्दै बैठकका सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता