इलामका १० वटै स्थानीय तहमा निर्वाचनको तयारी पुरा

नमीन ढकाल

इलाम, २ असारः असार १४ मा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारी इलाममा पुरा भएको छ । १० वटा स्थानीय तह रहेको इलाममा निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सुरक्षा समितिले तयारी पुरा गरको हो । १ सय ४४ वटा मतदान स्थलका २ सय ४९ मतदान केन्द्र रहेको इलाममा निर्वाचन सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयले २ हजार २ सय ५५ कर्मचारी निर्वाचनमा खटाउँदै छ । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतको तालिम सकेर मतदानमा आवश्यक पर्ने ६४ प्रकारका सामाग्री सम्बन्धित केन्द्रमा पठाउन तयारी अवस्थामा राखिएको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताए । निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन कार्यालयले मतदाताको संख्याका आधारमा प्रत्येक मतदान केन्द्रमा पठाउने मतपत्र प्याकेजिङ्ग सकेको छ । मतदान केन्द्रमा खट्ने कर्मचारी पदस्थापन सकेपछि कार्यालयले निर्वाचन सामग्रीसँगै मतपत्र पठाइने मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए । 
मतदानस्थलको संवेदनशिलता छुटयाइयो 
इलामका २७ मतदानस्थल अति संवेदनशिल, ३३ संवेदनशिल र ८४ वटा सामान्यको सूचिमा राखेको जिल्ला सुरक्षा समितिले निर्वाचनको सुरक्षाका लागी सबै तयारी पुरा गरेको छ । भय रहित रुपमा निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । तीन घेरामा हुने निर्वाचन सुरक्षाका लागि १ हजार ८ सय नेपाल प्रहरी, ४ सय शसस्त्र प्रहरी र ६ सय नेपाली सेना १० वटै स्थानीय तहमा परिचालन भएका छन् । 
९ दलले मात्र राष्ट्रिय दलको रुपमा चुनाव चिन्ह पाउने 
आसन्न स्थानीय तहको निर्वाचनमा इलाममा ९ दलले मात्र राष्ट्रिय दलको रुपमा निर्वाचन चिन्ह पाउने भएका छन । जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका १७ मध्ये ८ दलले स्वतन्त्र भएर निर्वाचनमा भाग लिनु पर्ने जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद काप्mलेले जानकारी दिए । राष्ट्रिय मान्यता प्राप्त ९ दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेपाल, संघीय समाजवादी फोरम नेपाल, मधेशी जनाधिकार फोरम, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी र खम्बुवान राष्ट्रिय पार्टी नेपाल रहेका छन् । मंगोल नेशनल अर्गानाइजेसन र जनप्रजातान्त्रिक पार्टी नेपालले निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा दल दर्ता नगराएकाले दलका रुपमा चुनाव लड्न नपाउने भएका छन । त्यस्तै स्वतन्त्र दलका रुपमा निर्वाचनमा भाग लिनेमा जनसमाजवादी पार्टी नेपाल पुर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रीन अर्गनाइजेसन, नेपाल कम्युनिष्ट पार्टी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नयाँ शक्ति नेपाल रहेका छन् । निर्वाचन आयोगले छापेकोे इलामको मतपत्र २८ लहरको रहेकाले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले पाउने राष्ट्रिय चुनाव चिन्ह बाहेक १९ वटा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । इलामका १० स्थानिय तहमा १ लाख ८९ हजार २७४ मतदाता रहेका छन । ४ नगरपालिका, ६ गाउँपालिका रहेको इलाममा २० जना प्रमुख÷उपप्रमुख एवम ८१ वडा अध्यक्ष सहित ४ सय २५ जना जनप्रतिनीधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment