इलामः इलामको फाकफोक थुम गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राम श्रेष्ठ विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकी सरस्वती राई (सरु) विजयी भएकी छिन् । अध्यक्ष श्रेष्ठले ४१४२ मत ल्याएर विजयी भएका हुन् भने निकटतम् प्रतिद्वन्द्वी एमालेका दिपेन्द्र खनालले ३९७८ मतसहित पराजित भएका हुन् । उपाध्यक्षमा एमालेकी सरस्वती राईले ४२४१ मत ल्याएर विजयी भएकी हुन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली काग्रेसकी डालाकुमारी विष्टले ३९८३ मत ल्याएर पराजित भएकी हुन् ।
फाकफोक थुम गाउँपालिकामा उपाध्यक्षमा विजयी राई र उपाध्यक्ष पदकी निकटतम् प्रतिद्वन्द्वी विष्ट दुवै शिक्षक पेशामा थिए । उनीहरुले शिक्षकबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवारी दिएका हुन् । विजयी राई प्राथमिक तहकी शिक्षिकाबाट राजीनामा दिएर उपाध्यक्ष बनेकी छिन् ।
सातवटा वडा रहेको फाकफोक थुम गाउँपालिकाको तीनवटा वडामा एमालेको प्यानल, तीनवटा वडामा कांग्रेसको प्यानल र एउटा वडामा कांग्रेस एमालेको मिश्रित प्रतिनिधीले विजयी हासिल गरेका छन् । वडानम्बर १, २, ३ मा नेपाली कांग्रेसको प्यानल, ४, ५, ७ मा नेकपा एमालेको प्यानल विजयी भएको हो भने ६ मा मिश्रित नतिजा आएको हो ।
