
साकफारा,असारः नुनसरी बक्राहा खोलामा वर्षासँगै आएको बाढीले मानव बस्तीसँगै खेतीयोग्य जमिन कटान गर्न थालेपछि मोरङ र इलामको सिमावर्ती मिक्लाजुङबासी त्रसित बनेका छन् । गत वर्षको असारमा बस्तीतिर पसेको बक्राहाको बाढी रोक्न तटबन्ध निर्माण हुन सकेको छैन । बाँध फुटाएर बस्तीमा पस्दा बक्राहाको बाढीले सो गाउँपालिकाको साविक मधुमल्ला गाविसका ५०० परिवार विस्थापित भएका थिए ।
केही दिनयता वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पस्दा स्थानीयबासी झनै त्रसित बनेका छन् । गत वर्ष बाढीले मिक्लाजुङ–६ को बेतेनी र धप्पर टोल गरेर दुई स्थानमा बाँध फुटाएको थियो । धप्पर टोलमा करिब ७०० मिटर फुटाएको बाँध निर्माण भएता पनि सोही वडाको बेतेनीमा फुटाएको करिब ८०० मिटर बाँध मर्मत हुन नसक्दा खोला बस्तीमा पसेको हो ।
सो बस्तीका करिब २५ परिवार नजिकैको मिक्लुङ सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् । गत वर्ष बक्राहाको बाढीले १३० बिगाहभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको थियो । ‘मेरो डेढ बिगाह जमिन सबै बगर बन्यो,’ मिक्लाजुङ–६ का अगम दाहालले भने, ‘सातजनाको परिवार पाल्न अहिले मजदुरी गर्न जानुपरेको छ ।’ वर्षा सुरु भएसँगै खोला गाउँमा पसेर त्रसित बनेका स्थानीयबासीले मिक्लाजुङ गाउँपालिका कार्यालयमा तारजाली र तटबन्धको व्यवस्था गरिदिन माग गर्दै निवेदनसमेत दिएका छन् । स्थानीय पूर्णकुमार बस्नेतले भन्छन्, ‘हामी कहिलेदेखि ढुक्कले सुत्न पाउँछौँ ?’ अहिले खोलाले गतवर्ष बगेको ठाउँभन्दा केही पश्चिम खेतीयोग्य जमिन र मानव बस्तीतर्फ कटान सुरु गरेपछि गाउँपालिकामा तारजालीको माग गरिएको स्थानीय मोहन गौतमले बताए ।
खोलाले मानव बस्तीतर्फ कटान सुरु गरेपछि सोमबार मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, वडा नम्बर ६ का अध्यक्ष बृद्धिलाल निरौला र वडा नम्बर ९ का अध्यक्ष सोमनाथ अधिकारीसहितको टोलीले स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकनपछि गाउँपालिकाका अध्यक्ष आचार्यले धार परिवर्तन गर्न चाँडै काम सुरु गर्ने र जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा लैजाने बताए ।