असार २४,इलामः सधै असार १५ मा मनाउने धान दिवस शनिवार मनाउँदा किसानहरुले हिलोमै रोपाइको मज्जा लिए ।
जिल्ला कृषि विकास कार्यालय इलामले आयोजना गरेको १४ औँ राष्ट्रिय धान दिवस, रोपाईँ महोत्सवमा जिल्लाका किसानहरु सहभागि भएका थिए । उनीहरुले दिल खोलेर दिवस मनाएका हुन् ।
दोस्रो तहको निर्वाचनको भोलि पल्ट असार १५ मा दिवस मनाउन नसके पछि यस पटक राष्ट्रिय धान दिवसको नौ दिन पछि इलाम नगरपालिका ९ मा रोपाइ गरेर दिवस मनाएको कृषि प्रसार अधिकृत रविकिरण अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न ८ वटा बाली एवं अन्तर कृषक समूह प्रतियोगितामा बिजयी कृषक र समूहहरुलाई समेत पुरस्कृत गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार रुपयाँ , दोस्रोलाई तीन हजार, तेस्रो हुनेलाई दुई हजार र सान्तवनालाई पाँच सय रुपया प्रदान गरिएको थियो ।
यस्तै कृषि सेवा केन्द्र दानावारीका प्राविधिक सहायक अनिल तिमल्सिना तथा बाँझो सेवा केन्द्रका नायव प्राविधिक सहायक कृष्ण ढुङ्गेललाई उत्कृष्ट प्राविधिकका रुपमा नगद ४ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
इनपाकी उपप्रमुख शुशीला नेम्बाङ्ग प्रमुख आतिथ्यमा भएको कार्यक्रम जिल्ला कृषि विकास समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सफल पोर्तेल इलामका वरिष्ठ कृषि विकास अधिकृत राम सोगारथ शाह सहित स्थानीय किसानहरुको उपस्थिती रहेको थियो ।