बिनय तिम्सीना
इलाम जिल्लाको पश्चिमी साविक गजुरमुखी गविस हाल माङसेवुङ गाउँपालिकामा रहेको गजुरमुखी एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । इलाम सदरमुकामबाट मेची राजमार्ग हुँदै नेपालटार सम्म पुगे पछि नेपालटारबाट मङ्गलबारे सम्म नेपालटार मङ्गलबारे पक्की सडक हुँदै मंगलबारे बजार पुग्नु पर्दछ । मंगलबरे बजारबाट कच्ची सडकको यात्रा पश्चात गजुरमुखीधाम पुग्न सकिन्छ ।
इलाम जिल्लाभित्रका आन्तरिक धर्मावलम्बी र पर्यटकहरु मात्र गजुरमुखीधामको भ्रमण गर्नेमा पर्दैनन । गजुरमुखी धाममा नेपालका अधिकांश ठाउँबाट यहाँ भक्तजन आउने गरेको र भारत, भुटान, वर्मा तथा अन्य हिन्दुधर्ममा आस्था राख्ने देशहरुबाट पनि भक्तजनहरु आउने गरेको गजुरमुखी धामका पुजारी चण्डीप्रसाद बताउँछन् । यसरी हजारौ संख्यामा भक्तजन आउने गजुरमुखीलाई नेपाल सरकारको आँखाले भने देखेको छैन । देउमाई खोलाको किनारमा रहेको पहाडि विकट ढुङ्गाको ओडारमा रहेको गजुरमुखीधाम पुगेपछि मानिसहरुले आफ्नो लागि सुख, शान्ति र सन्तान माग्ने गरेका छन् ।
गजुरमुखी धाममा सन्तान नहुनेले सन्तान माग्दा सन्तान हुने जनविश्वास हाल आएर झनै दरिलो हुदै गइरहेको छ । यो धाममा प्रायः भक्तजनहरु दुई पटक आउने गरेका छन्, पहिलो पटक दर्शन गर्न जादा देवीसँग केहि माग्न र देवीको शक्तिले मागेको कुरा पुरा भएपछि पुजाआजा गर्न र भेटी चढाउदै धन्यबाद दिन ।
हजारौको संख्याका भक्तहरुको धर्मिक आस्था र विश्वासको केन्द्र भएपनि गजुरमुखी धामका भौतिक संरचनाहरु भने उति अब्बल छैनन् । स्थानीयका अनुसार अघिल्लो आर्थिक वर्षका रेलिङको लागि जिविसले केही रकम छ्ट्याए बाहेक हालसम्म सरकारले गजुरमुखीको संरक्षणलाई प्राथमिकतामा पार्न सकेको छैन । गजुरमुखी धाम भन्दा केही माथि रहेको उसताकाको व्यवस्थित शिवालयको हाल भङ्नावशेस मात्र बाँकी रहेको छ । डाँडामा रहेको शिवालायको मर्मत गर्ने र त्यसलाई व्यवस्थित गर्ने हो भने भक्तजनहरु वस्न र पर्यटकहरुको आगमनमा अझ वृद्धि गर्न सकिने देखिन्छ ।
गजुरमुखीको इतिहास हेर्ने हो भने आजभन्दा २१८ वर्ष पहिला देखिनै यो धाममा पुजाआजा हुँदै आएको प्रमाणहरु भेटिन्छ । यो धाममा बाजविर लिम्वुले पुजाआजा गर्दा सुख, शान्ति र सन्तान प्राप्ति हुने भनेर आजभन्दा २१८ वर्ष अगागि पत्ता लागाएको किवदन्ती पाईन्छ ।
अहिले पनि उनका सन्तानलाई पुजारी खलक भनेर गजुरमुखीमा चिनिन्छ । गजुरमुखीधाममा कात्तिक महिनामा पुजाआजा गर्न राम्रो मानिन्छ । कात्तिक पूर्णिमामा देवी गजुरामुखीको जन्म भएकाले कात्तिक महिनामा पुजा गरिने गरिएको हो । इतिहास हेर्ने हो भने यो धामको नाम गजारामुखीबाट अप्रभम्स भएर गजुरमुखी भएको हो । गजुरमुखी धाममा अहिले सम्म धेरै जसो भक्तजनहरु सन्तान माग्न अएको र धेरैको यहाँ पुजाआजा गरेर गएपछि सन्तान भएको पुजारी चण्डीप्रसादको भनाई छ ।

भक्तजनहरुले सन्तान भए पछि फेरी अएर धामको नाममा भेटी दिने र सन्तानको तस्वीर छोडेर जाने गरेका छन् । गजुरमुखी धामको कुनै गुठी नभएकाले अहिले सम्म भक्तजनहरुको भेटीवाटनै धामको संरक्षण र सञ्चालन भईरहेको छ ।
गजुरमुखी धामको काख देउमाई खोलाको किनारामा सानो बजार रहेको छ । जहाँ वस्नको लागि होटलहरु र खानको राम्रो प्रवन्ध रहेको छ । गजुरमुखीधाममा आउने भक्तजनको लागि सरसामन र खान वस्नको व्यवस्था स्थानीयहरुले राम्ररी गर्ने गरेका छन् ।