
चुलाचुलः जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका चुलाचुली गाउँपालिका–२ का देवीराम राईको परिवारलाई जिल्ला वन कार्यालय इलामले राहत रकम दिएको छ ।
जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठ नेतृत्वको टोलीले मृतक राईको घरमा पुगेर आइतबार किरिया खर्च बापत ५० हजार रुपैयाँ दिएको हो । राहत रकम चुलाचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदीपचन्द्र राई र उपाध्यक्ष निर्मला दाहालले मृतक राईका काका धनबहादुर राईलाई हस्तान्तरण गरेका थिए । बुधबार राति गाउँ छिरेको हात्तीको आक्रमणबाट ३७ वर्षीय राईको मृत्यु भएको थियो ।
मृतकको परिवारलाई राहत बापतको थप १० लाख रुपैयाँ दिलाउने प्रक्रिया भइरहेको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले जानकारी दिए । चुलाचुलीमा वर्षेनी हात्तीको आक्रमणबाट ज्यान गुमाउनेका संख्या बढदै गएको छ ।