सँगसगै इलाम र दार्जिलिङ

युवराज गौतम
हरियाली चियावारी र सूर्योदयको जिल्लाको नामले परिचित इलाम अनि नेपालकै ७६ औं जिल्ला जस्तो भारतको दार्जिलिङ्ग नेपाल अधिराज्यकै प्रतिनिधित्व गर्दै सबेरै झुल्कन्छ । दोधार र चाँदनी तन्द्रामा छटपटाउँदै गर्दा इलाम र दार्जिलिङ्ग उठिसकेको हुन्छ अनि चियामा रम्न थालिसकेको हुन्छ । सायद त्यसैले होला इलाम–दार्जिलिङ्ग सधैं एक पाइलो अघि हुन्छ उठनमा, व्यूँझनमा साथै प्रगतिन्मुखको बाटाहरुमा । इलामको कन्याम होस या त दार्जिलिङ्गको बतासे, उताको टाइगरहिल होस या त यताको अन्तुडाँडो सँगै झुल्कन्छन र सँगै अस्ताउँछन । दार्जिलिङ भारत भए इलाम नेपाल हो तर दुवैको प्रकृति, जलचर र थलचर मिल्दो छ । प्रकृतिले दिएको उपहारको पोको उस्तै छ र उत्तिकै छ ।
इलाम भित्रको यथार्थ गाउँनेहरु, सिर्जनागर्नेहरु दार्जिलिङलाई पनि उत्तिकै गाउँछन र उत्तिकै सिर्जना भर्छन । कुनै समय इलाम पुगेका भूपि शेरचन दार्जिलिङ पुगेरै छाडे । इलाम पुगेका भूमि कविवर माधव घिमिरे दार्जिलिङ नपुगि सकेनन । इलाम पुग्दा दार्जिलिङलाई अन्याय हुने ठाने श्रष्ठाले त्यसैले शुसोभित कविताका हरफहरु नकोरी सकेनन । इलामको गीत गाउँने कुवेर राई, पुजन प्रधान, यम वराल, रोशन गुरुङ, जगदिश समालहरुले दार्जिलिङलाई छुटाउन सकेनन् । 
पारीजात, इन्द्रबहादुर राईहरुले दार्जिलिङलाई साहित्यमा कुँदेपनि इलामलाई भुल्न सकेनन । सबैले उस्तै कुँदे, उस्तै लेखे र उस्तै गाए । वास्तवमा इलाम र दार्जिलिङको सम्बन्ध अत्यन्तै प्रगाढ र पुरानो छ । राष्ट्र फरक रहे पनि रगतको साइनो एउटै छ । दार्जिलिङलाई दुःख परे इलाम हाँसेर बस्न सक्दैन । हुन पनि कसैको दार्जिलिङतिर ससुराली छ त कसैको माइत इलाम तिर पर्दछ । दुवैलाई सारोगारो पर्दा आपसी सहयोग जरुरी पर्दछ । राष्ट्र फरक रहे पनि भावनात्मक सम्बन्ध गहिरिएको छ । भाषा र जीवन शैली मिल्दो छ । दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्कदा इलामको सहयोग उत्तिकै परिरहेको छ । दुवैलाई दुवैतिरको मिडियाले समान व्यावहार गरिरहेको छ । सामाजिक, सांस्कृतिक, राजनैतिक तथा भावनात्मक सम्बन्ध पनि दुवैलाई दुवैलाई चाहिने गरेको यथार्थहरु छँदैछन् ।
वि।स।१८७२ मा उत्पन्न नेपाल–अंग्रेज युद्धपछि गरिएको सुगौली सन्धी पछि पूर्वी सिहंलिला पर्वत र मेची नदीले इलाम र दार्जिलिङको सम्बन्ध दुई राष्ट्रका रुपमा छुट्टाइदिए पनि दुवैको सम्बन्ध कालान्तर सम्म उस्तै रहिरहयो । प्राकृतिक सौन्दर्यता, हावापानी, भेषभूषा, भाषा र जीवन शैलीमा पनि एकरुपता भए पछि सम्बन्ध छुट्टिने कल्पना गर्नै नसकिने भयो । सुगौली सन्धी पश्चात मेची नदी देखि उता टिष्टाको भाग भारतलाई सुम्पनु परेपछि त्यस क्षेत्रलाई अंग्रेजहरुले वडो मेहेनतका साथ सुविधा सम्पन्न वनाउँदै लगे । जसको फलस्वरुप दार्जिलिङमा चिया र पर्यटनले उचाइ लिदै गयो ।
सन् १८३० ताका वेलायती नागरीक डा।आर्थर क्याम्पवेलले दार्जिलिङमा घना वस्तीहरु बसालेर कम्ती गुन लगाएनन । भारतीय स्वतन्त्रताको आन्दोलन पछि त्यहाँबाट वेलायतीहरु ह्टेर गए पनि दार्जिलिङको सुन्दरतामा निखार आउन छाडेन । हरिया डाँडाकाडा, भिरालो जमिन, ओसिलो माटोमा वनेका सुन्दर घरहरुले दार्जिलिङको पहिचान झनै राम्रोसँग स्थापित गराइदियो । सन् १८८१ ीतर दार्जिलिङको पहाडी डाँडामा सानो रेल पुगेपछि यहाँको पर्यटन उद्योग आकाशिदै गयो ।
 चियाले डाँडाहरु भरिदै गए । करोडौं रुपैयामा सुविधा सम्पन्न पर्यटकिय स्थलको विकास, होटल, लज धमाधम वन्न थाले । स्थानीय नेपालीको मेहेनतले दार्जिलिङ पहाडकी रानीको उपमा पाउन सफल पनि भयो । दार्जिलिङ, मिरिक, खरसाङ, कालेम्पोङ लगायतका ठूला शहरहरुले वर्षेनी हजारौं पर्यटन तान्न सफल बन्दै गए । अहिले आएर दार्जिलिङ सफल पर्यटन स्थलका रुपमा विकास भइसकेको छ । विश्वभरका मानिसको गन्तव्य स्थल दार्जिलिङ बन्दै जान थालेको छ ।
विडम्बना, अंग्रुेजहरुले दार्जिलिङलाई जति सिंगारे, त्यस्तो सिंगार छिमेकी इलामले पाउन सकेन । तर उताको प्रभाव यता परेपछि इलाम पनि दार्जिलिङको प्रतिस्पर्धामा उत्रिदै जान थाल्यो । उताको जस्तो पर्यटकिय सुन्दरता, हावापानी, रहनसहन यता इलाम तिर पनि रहेकाले पर्यटकिय गन्तव्यका रुपमा विकासको ढोका उघारन थाल्यो । अन्तुडाँडो, सन्दकपुर साथै चियावारीहरुले ख्याती कमाउँदै गए ।  वि।स। २०१४ साल पछि विस्तार रुप लिदैं गएको इलामबजार र त्यहाँ भित्र रहेको आकर्षक गोलघरले इलामप्रति मानिसहरुलाई आकर्षित तुल्याएको इतिहाँसका पानाहरुमा पढन पाइन्छ ।
यतिवेला नाङ्गा डाँडाहरुमा विस्तार गरिएको चियाखेती, सूर्योदय दृश्यावलोकनका लागि अन्तुडाँडाले पाएको ख्याती, माइपोखरी र सन्दकपुरको चर्चाले इलामलाई सफल पर्यटकिय गन्तव्यका रुपमा विकास गर्दै लान थालेको छ । सिद्धिथुम्का, सन्दकपुर, कन्याम, माङमालुङ्ग, तिनतले झरना, टोडके झरना, फिक्कल, पशुपतिनगर, पाथिभरा लगायतका आकर्षक पर्यटकिय स्थल लगायत यहाँको जैविक विविधता, प्राकृतिक श्रोत साधन तथा स्वास्थ्य हावापानीका कारण पर्यटकहरुले इलामलाई छनोट गर्न थालिसकेका छन् । वि।स। २०२८ सालतिर मेची राजमार्गको विस्तारले इलामको पर्यटन विकासको ढोका झनै खुल्ला गरिदियो । अहिलेको इलाम दार्जिलिङसँग प्रतिस्पर्धा गर्न योग्य हुँदै गएको छ । 
यतिवेला इलामको चर्चा परिर्चाले दार्जिलिङकै हाराहारीमा पर्यटन तान्न थालिसकेको छ । चिया–पर्यटन, रेडपाण्डाको संरक्षण तथा ग्रामीण पर्यटनको अवधारणाले इलाम विश्वभरका मानिसको गन्तव्यका रुपमा विकास हुँदै जान थालेको छ । 
वास्तवमा इलाम र दार्जिलिङको सम्बन्ध र गन्तव्य मिलेपछि भित्रिएका पर्यटकलाई आदनप्रदान गरेर घुमाउन पनि सक्नु पर्दछ । हुनत इलाम आउने पर्यटक दार्जिलिङ नपुगी फर्कदैनन । त्यसैले त दार्जिलिङ आएका पर्यटक इलाम पनि अनिवार्य रुपमा आउने वातावरण वनाउने काम दार्जिलिङ्गेले गर्नुपर्छ । भारतले दार्जिलिङलाई दिने वजेट जतिनै इलामलाई पनि राज्यको सहयोग आवश्यक परेको छ । दार्जिलिङ सगसगै अघि वढन इलामेले कसरत अझै गर्नुपर्छ । झापाको चारआलीबाट मेची राजमार्ग हुँदै इलाम आउने पर्यटकलाई इलाम गेटवे दार्जिलिङ अनि दार्जिलिङ गेटवे इलाम बनाउनु जरुरी छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता