रोङ गाउँ कार्यपालिकाले पूर्णता पायो

गोविन्द पौडेल
रोङ, इलामको रोङ गाउँ पालिकाको नव निर्वाचित अध्यक्ष शम्सेर राईले राजा होइन साझा भएर काम गर्ने बताएका छन् । रोङ गाउँ कार्यपालिकाको दलित तथा अल्पसंख्यक र अन्य निर्वाचित ६ जना सदस्यको शपथग्रहण तथा निर्वाचन अधिकृतको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै रोङको रङ फेर्न सबै पक्षसँग सहकार्य गर्न आब्हान पनि गरेका छन् । ‘निर्वाचित सदस्यहरुले ठूलो ठानेर हैन विवेकी र नागरिकको समस्याप्रति अध्ययनशील हुनु पर्दछ’ राईले भने– ‘रोङको परिवर्तनमा यस अघि कसैको भूमिका थियो भने त्यो राज्यको चौथो अंग पत्रकारिताको नै थियो ।’ 
रोङले प्रतिनिधिहरु पाइसकेपछि गाउँ पालिकाको विकासमा अबको दिनमा सँगसँगै सहकार्य गर्न सबै पत्रकारहरुलाई उनले आग्रह पनि गरेका छन् । शपथग्रहण तथा बिदाई कार्यक्रममा रोङका उपाध्यक्ष चन्द्रकला राई नेपाली कांग्रेसका प्रतिनिधि देवीप्रसाद अर्याल, एमालेका मेहरमान तामाङ, वडा नम्बर ६ का वडा अध्यक्ष मनिकुमार तामाङ, निर्वाचितका तर्फबाट बिमला तामाङ र मनबहादुर लाप्चा लगायतले बोल्दै निर्वाचन सफल भएकोमा आम रोङबासी निर्वाचन अधिकृतको कार्यालयको कर्मचारी तथा सुरक्षाकर्मी र सञ्चारकर्मीलाई धन्यबाद ज्ञापन गरेका थिए । 
रोङ गाउँपालिकाको कार्यपालिकामा निर्वाचित हुने दलित तथा अल्पसंख्यक समुदायबाट इन्द्रु गहतराज, र मनबहादुर लाप्चा तथा अन्य सदस्यहरुमा बिमला तामाङ, सुमित्रा योन्जन, योगमाया सुनुवार र टिका तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।
 प्रत्येक पदमा नेपाली कांग्रेसले मात्र उम्मेदवारी दिएकाले सबै सदस्यलाई निर्विरोध निर्वाचित गरिएको निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिए । यसरी निर्वाचित भएपछि रोङ गाउँ पालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । 
गाउँ कार्यपालिका अब १४ सदस्यीय भएको अध्यक्ष शम्सेर राईले बताए । गत जेठ १५ गते स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय रोङ गाउँपालिकाबाट उठेको छ । निर्वाचनको सबै काम सम्पन्न भएको कार्यालयले जनाएको छ । निर्वाचन कार्यक्रम सम्पन्न भई सकेकाले गाउँपालिकाले निर्वाचन कर्मचारीलाई बिदा गरिएको कार्यकारी अधिकृत डिकप्रसाद दाहालले बताए । लाप्चा जातीको भाषाबाट नाम राखिएको रोङ गाउँपालिकामा लाप्चा समुदायबाट एक्ला प्रतिनिधिको रुपमा मनबहादुर लाप्चा रहेका छन् । यस अघि गत असार १४ गते सम्पन्न निर्वाचनमा आधा दर्जन लाप्चा प्रतिनिधि चुनावी प्रतिस्पर्धामा भए पनि कुनै पनि उम्मेदवार निर्वाचित भएका थिएनन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता