इलाम ३७ औ साक्षर जिल्ला घोषणा

इलाम, असारः सरकारले तोकेका सूचक पूरा गरेसँगै इलाम साक्षर जिल्ला घोषित भएको छ । नेपालको जनगणना–२०६८ अनुसार २ लाख ९० हजार २ सय ५४ जनसंख्या रहेको इलाममा ९७.६ प्रतिशत जनसंख्या साक्षर भएको पाइएपछि ‘साक्षर जिल्ला’ घोषणा गरिएको हो ।
मुलुकका ७५ जिल्लामध्ये इलाम ३७ औं साक्षर जिल्ला बनेको जिल्ला शिक्षा अधिकारी टंक गौतमले बताए । सरकारले सन् २०१५ भित्र सबै नागरिकलाई साक्षर बनाएर सबै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने महत्वकाँक्षी योजना बनाएको भएपनि अझै ३८ जिल्ला साक्षर बन्न सकेका छैनन् । आर्थिक वर्ष २०६८/०६९ मा राष्ट्रिय साक्षर अभियान शुरु हुँदा इलाममा ८३.७ प्रतिशत जनसंख्या साक्षार थिए । 
२०६९/७० मा साक्षरता ९३.७ प्रतिशत रहेको थियो । २०७०/७१ मा ९४.७ प्रतिशत साक्षर रहेको इलाममा साक्षरता ९७.६ प्रतिशत २०७१/७२ मा पुगको पनि प्राविधिक समस्याका कारण ढिलो मात्र घोषणा गर्नुपरेको जिशिअ गौतमले बताए ।
राष्ट्रिय साक्षरता अभियान सुरु हुँदा इलामका ४० हजार ५ सय २३ जना निरक्षरहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लाका साविकका २५ गाविसमा सामुदायिक अध्ययन केन्द्र स्थापना गरिए निरक्षर दर घटाइएको गौतमले बताए ।
९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएपछि साक्षर जिल्ला घोषणा गर्न सक्ने प्रावधान रहेको छ । अनौपचारिक शिक्षा केन्द्रका महानिर्देशक चुडामणी पौडेलले जिल्ला शिक्षा समितीका अध्यक्ष एवम स्थानिय विकास अधिकारी ध्रुवबहादुर खडकालाई साक्षरताको प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता