
इलाम : माई, पुवा र जोगमाई खोलामा आठ वटा विद्युत आयोजनाबाट विद्युत उत्पादन भएपनि अनियमित विद्युत आपूर्तिका कारण इलामका उपभोक्ता हैरान भएका छन् । विगत तीन महिनादेखि इलामका उपभोक्तासँगै नगदेबाली र दूग्ध पदार्थ उत्पादन गर्ने उद्योग संकटमा गरेका हुन् । ६० मेगावाट बढी विद्युत उत्पादन भएपनि इलामका उपभोक्ता अनियमित विद्युत आपूर्तिका कारण हैरान भएका छन् । दिनमा दर्जनौ पटक विद्युत आउने-जाने गर्दा व्यवसायीले राम्रोसँग काम गर्न पाएका छैनन् भने उद्योग संचालनको भार चार गुणा बढेको छ । तीन महिनादेखि नियमित विद्युत आपूर्ति नहुँदा इलोट्रोनिक, कम्प्युटर सम्बन्धि व्यवसाय गर्दै आएका व्यवसायीको रोजिरोटी नै संकटमा परेको सूर्याेदय नगरपालिका इलोट्रोनिक व्यवसायी बिष्णुप्रसाद मैनालीले बताए ।
विद्युत आपूर्ति अनियमित भएपछि इलाममा संचालन हुँदै आएका उद्योगले क्षमता अनुसार उत्पादन गर्न सकेका छैनन् । ३३ केभि र १३२ केभि क्षमताको केन्द्रिय प्रशारण लाइन भएपनि पटक–पटक विद्युत आउने–जाने गर्दा उद्योगीहरुले लाखौ खर्चेर डिजेल प्लान्ट र जनेनेटर चलाउनुपरेको छ । डिजेल र पेट्रोलको भरमा उद्योग चलाउनुपर्दा उद्योग संचालनको भार चार गुणा बढेको इलाम टि प्रोडुसर्स प्रा.लि.का ओम काफ्लेले बताए । माई, पुवा र जोगमाई खोलामा आठ वटा विद्युत आयोजनाबाट विद्युत उत्पादन भएपनि लामो प्रशारण लाइन हावाहुरीले गर्दा समस्या आउने गरेको विद्युत प्राविधिकको भनाइ छ । विद्युतमा आउने समस्याका कारण विगत तीन महिनादेखि इलामका उपभोक्ता, उद्योगी, व्यवसायी समस्या झेल्दै आएका हुन् । ३५ सय बढी उद्योग दर्ता भएको इलाममा नियमित विद्युत आपूर्ति नहुँदा नगदेवाली र दूग्ध पदार्थ उत्पादन गर्ने ५ सय बढी उद्योग संकटमा छन् । विद्युत आपुर्तिको जिम्मा पाएको नेपाल विद्युत प्राधिकरणले भने पटक पटक विद्युत कट्ने समस्या चाँडै हट्ने जनाएको छ ।