
भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा एउटा यस्तो घटना घटित भएको छ जुन धेरैजसो फिल्ममा देख्न पाइन्छ । एउटी आमाले आफ्नी छोरीलाई चितुवाको मुखबाट खोसेर बचाएकी छिन् ।
अचम्म बनाइदिने यो घटना बहराइच जिल्लामा मोतीपुर रेन्जको जंगल नजिकै बसेको नौनिहा गाउँको हो । ६ वर्षीया एक बालिकालाई चितुवाले लग्यो । चितुवाले ती बालिकालाई जंगलफर्त लगिरहेका बेला उनकी आमाले देखिन् र अचानक चितुवामाथि जाइलागिन् ।
बीबीसीसँगको कुराकानीमा उनले भनिन्, ‘घटना बेलुका करिब ६ बजेको हो । म खाना बनाइरहेकी थिएँ र छोरी छिमेकका अन्य बच्चासँगै खेलिरहेकी थिइन् । त्यति नै बेला चितुवा आयो र मेरी छोरीलाई मुखले च्यापेर जंगलतर्फ अगाडि बढ्यो । सुरुमा छोरी चिच्याइन् तर जब चितुवाले बेस्सरी च्याप्यो उनको आवाज नै बन्द भयो । बाहिर निस्किएर हेर्दा म शिथिल भएँ । तर मैले हिम्मत गरेर छोरीको दुईवटै खुट्टा समातें ।’
छोरीको टाउको चितुवाको मुखमा थियोः
भोजपुरी भाषा बोल्ने सुनैनाका अनुसार चितुवाले उनको छोरीलाई निकै बेस्सरी टाउकोमा च्यापेको थियो ।
उनी भन्छिन्, ‘मैले छोरीको दुबै खुट्टा आफूतर्फ तानिरहेको थिएँ र चितुवाले छोरीको टाउकोलाई मुखमा च्यापेर आफूतर्फ तानिरहेको थियो । निकै बेरसम्म मैले यस्तो गरिरहें । मौका हेरेर म चितुवामाथि जाइलागें र अन्त्यमा छोरीलाई त्यसको मुखबाट निकाल्न सफल भएँ ।’
सुनैनाका अनुसार यदि उनी बाहिर नआएकी भए सायद उनकी छोरी बाँच्दिनथिन् होला । छोरीलाई चितुवाको मुखबाट निकालेपछि उनी चिच्याइन् त्यतिबेलासम्म गाउँका अन्य मानिसहरु पनि त्यहाँ पुगिसकेका थिए । बालिका गुमाएपछि चितुवा थप आक्रमक भयो तर गाउँलेले चितुवालाई त्यहाँबाट भगाउन सफल भए ।
चितुवाको हमला धेरैजसो सहनुपर्नेः
गाउँलेका अनुसार चितुवा धेरैजसो गाउँ पस्ने र भेडा बाख्राजस्ता साना जनावरमाथि हमला गर्ने गर्दछन् । थुप्रै पटक एक्लै हुँदा मानिसहरुमाथि पनि हमला गर्दछन् भने बच्चाका लागि पनि खतरा बनिरहन्छन् ।
सुनैना भन्छिन्, ‘छोरी अन्य साथीसँग बाघ–बघिनीको खेल खेलिरहेकी छिन् भन्ने सोचें तर जब उनी एकपटक मात्र चिच्याइन् र त्यसपछि उनको कुनै आवाज आएन तब मलाई शंका भयो जुन वास्तविक निस्कियो ।’
चितुवालाई घर बाहिर देखेर डर लागेन भन्ने प्रश्न सोध्दा सुनैना भन्छिन्, ‘डर लाग्यो तर जब त्यसको मुखमा छोरीको टाउको देखें तब मेरो डर भाग्यो र मभित्रको ताकत उर्लियो । थोरै बेरसम्म मौकाको खोजीमा रहें र त्यसपछि छोरीको खुट्टा समातिहालें ।’
खतरामुक्त छिन् बालिकाः
हमलामा घाइते बालिकालाई सुरुमा मोतीपुरको प्राथमिक चिकित्सालय लगियो जहाँ उनको नाजुक स्थितीलाई देखेर जिल्ला अस्पताल रिफर गरियो ।
जिल्ला अस्पतालका डाक्टर पिके टन्डन भन्छन्, ‘बालिकाको टाउकोमा गम्भीर चोट छ र एउटा कान पूर्ण रुपमा चितुवाले टोकेको थियो । तर डाक्टरले त्यसको उपचार गरिसकेका छन् । टाउकोमा टाँका लगाइएको छ । अहिले बालिकाको अवस्था स्थिर छ । ’ डाक्टर टण्डनका अनुसार अहिले बालिका खतरामुक्त छिन् ।
बीबीसीबाट