दुर्घटनासँगै तुहियो दानाबारीका केशवको विल्डिङ बनाउने सपना

  • नमीन ढकाल

तस्विर (नमीन ढकालं) :कोटीहोम आश्रममा राखिएको केशवलाई स्यहादै उनकी आमा
इलाम : इलामको दक्षिणी क्षेत्र माई नगरपालिका–२ का २२ वर्षीय केशव भण्डारी ४ महिनादेखि अर्धचेत अवस्थामा छन् । मातातीर्थ औंशी १३ वैशाखका दिन गाडीबाट खसेका उनी जीवन मरणको दोसाधमा छन् । खोजी रिक्रुटमेन्ट सर्भिसेजन प्रालि बिर्तामोडबाट वैदेशिक रोजगारीका लागि कतार गएका उनी काम राम्रो नभएपछि पुनः नेपाल फर्किएर दुबईका लागि प्रयासरत थिए । दुबईको प्रक्रिया नहुन्जेल झापा–ताप्लेजुङ रुटमा चल्ने मे१ज १९३५ नम्बरको गाडीमा सहचालक काम गर्ने उनको फेरि विदेश गएर बिल्डिङ घर बनाउने सपना तुहियो । खाटमा सुतिरहेको केशवलाई देखाँउदै आमा रामकुमारी भण्डारीले भनिन्, ‘आमा कतारमा कमाइ भएन अब दुबई गएर धेरै पैसा कमाएर बिल्डिङ घर बनाउँछु भन्थ्यो । अहिले न त घरको अवस्था राम्रो रह्यो न छोरो सद्धे छ ।’
उपचारमा १४ लाख खर्च 
यात्रुको झोला झर्न लाग्दा ठेल्ने क्रममा इलाम नगरपालिका–१० गोदकको धर्जे जंगलमा ट्याक्सीबाट सडकमा खसेर उनको टाउकोमा गम्भीर चोट लाग्यो । उनलाई तत्काल झापास्थित बिएन्डसी अस्पतालको आइसियु कक्षमा राखियो तर, समस्या झन् जटिल बन्दै गयो । अस्पताल राखेको केही समयसम्म उनी हलचलसमेत गर्न सक्दैनथे तर, अहिले भने सामान्य हात खुट्टा चलाउन सक्छन् । उपचारमा अहिलेसम्म १४ लाख रुपैयाँभन्दा बढी खर्च भएको उनकी आमा रामकुमारी भण्डारीले बताइन् । गाडी धनीले उपचारका लागि १९ लाख रुपैयाँ दिएपछि दुवै पक्षबीच मिलापत्र भयो । बिएन्डसी अस्पतालले २७ असारमा बिरामीलाई घर लग्ने भनेपछि उनलाई खरेल बन्धु वशिष्ठ आश्रममा राखिएको छ । ‘डाक्टरले प्रत्येक ५÷१० दिनमा चेकअपका लागि ल्याउनु भनेकाले घरबाट ल्याउन असहज भएपछि आश्रममा राखेका हौँ’ रामकुमारीले भनिन्, ‘खाना केही खुवाउनु हुँदैन मुखबाट पाइप लगाएर माड खुवाउँदै आएका छौँ । कहिलेकाहीँ असहज हुँदा हलचल गर्छ नत्र मुढोजस्तै लमतन्न पर्छ । डाक्टरले ३ देखि ६ महिनाभित्र होस आउँछ भनेको छ ।’
खप्पर निकालेर अस्पतालमै 
टाउकोको दाहिने भागमा चोट लागेपछि उनको दाहिने खप्पर निकालेर बिएन्डसीमा नै राखिएको छ । ‘डाक्टरले निको भएपछि लगाउनुपर्छ भनेको छ’ उनकी दिदी मीना भण्डारीले भनिन् । घाँटीमा जमेको कफ निकाल्न मुस्किल भएपछि अहिले मेसिनमार्फत निकालिँदै आएको छ । श्वास फेर्नका लागि नाकमा पाइप लगाइएको छ । उनलाई श्वास फेर्ने अप्ठयारो हुँदा मुख चलाउने गरेका छन् ।
आमा भन्छिन् ‘एक्लो छोरो सास हुन्जेल निको हुने आस छ’ 
प्रत्येक ८–१० दिनमा के प्रतिक्रिया दिन्छ त्यहीअनुसार उपचार गर्नुपर्छ भनेर डाक्टरले भनेको छ, भावविह्वल हुँदै आमा रामकुमारीले सुनाइन् । ‘बुढेसकालको सहारा एक्लो छोरो सास हुन्जेल आस हुँदोरहेछ ऋणपान गरेर पनि छोरो बचाउनै प¥यो ’। केशव भण्डारी परिवारका एक्लो छोरा हुन् । उनका अरु २ जना दिदीहरु छन् । सामान्य हलचल मात्र गर्न सक्ने केशवको ओच्छयानमै दिसा पिसाब सोर्होनुपर्ने स्थिति छ । ७ कक्षासम्म मात्र अध्ययन गरेका उनी ५ वर्षअघिबाट गाडीमा खलासीको काम गर्दै आएका थिए । उनी वैदेशिक रोजगारीका लागि कतारसमेत गएका थिए । केही महिना कतारमा बसेपछि काम राम्रो नभएकाले म्यानपावरले अर्को देश पठाइदिन्छु भनेपछि फर्केर नेपाल आएका थिए । दुबईका लागि प्रयासरत उनी प्रक्रिया पूरा नहुन्जेल खलासी काम गर्ने भन्दै ताप्लेजुङ–झापा रुटको गाडीमा  काम गर्न थालेको २ महिना मात्र भएको थियो । गर्मीमा पंखा नचल्दा उनको शरीरबाट खलखल पसिनाका साथै आँखाबाट आसु झर्ने गरेको आमा रामकुमारी बताउँछिन् । ‘जति खेरै चिसो खोज्छ गर्मी भयो की छटपटाउँछ’ उनले भनिन् ‘छिेमेकीले पंखा दिएका छन् झापाका बारम्बार लाइन जान्छ साह्रै असहज भएको छ ।’ उनको २ साता अघिबाट थेरापीसमेत गर्न थालिएको छ । दैनिक डेढ घन्टा थेरापी गर्नेले १ हजार रुपैयाँ लिने गरेका छन् ।
उपचारमा समस्या 
आर्थिक अवस्था कमजोर भएका भण्डारी परिवारलाई छोरालाई उपचार गर्नसमेत समस्या भएको छ । स्थायी जायजेथाको नाममा माई नगरपालिका–२ गोरखेमा फुसको छानो भएका घर र पाखो बारीबाहेक केही छैन त्यो पनि खोला र पहिरोको जोखिममा छ । केशवका बाबु खरेल बन्धु आश्रमकै सीताराम मन्दिरमा २ वर्ष अघिदेखि पुजारी काम गर्दै आएका छन् । एकपटक उपचारमा ५–१० दिनमा २० देखि ३० हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको बाबु प्रेमप्रसाद भण्डारी बताउँछन् । ‘छोराको अवस्था यस्तो भयो म्यानपावरले पनि ठगेर १ लाख १५ हजार रुपैयाँ खायो । अहिले पैसा माग्न जाँदा के गर्न सक्नुहुन्छ गर्नुस् भन्छ । ऋणपान गरेर विदेश पठाएको थिएँ न त पैसा रह्यो न त छोराको अवस्था नै राम्रो छ ।’ ‘गाँउमा सय कडा ३ रुपैया ब्याज लिएर पठाएको अहिले ब्याज नै तिर्न मुस्किल भाको छ’  भावुक हुँदै भण्डारीले भने ‘डाक्टरले केही समयपछि आइसियुमा राख्नुपर्छ भनेको छ भएको घर पनि बेच्नुपर्ने अवस्था छ । अब अरु थप उपचार कसरी गर्नु चिन्ता छ उनले भनिन् । ‘अस्पतालमै मात्र १४ लाख ५० हजार रुपैयाँको बिल उठेछ त्यसबाहेक अन्य झन्डै ४ लाख रुपैयाँ खर्च भयो । अब गाडी साहुले दिएको ५० हजार मात्र बाँकी छ । थप उपचार कसरी गर्नु ठूलो चिन्ता छ ।’ केशवको उपचारको लागि भनेर कनकाई उद्योग वाणिज्य संघ कनकाई नगरपालिकाले नगद १६ हजार ५ सय, कनकाई माविले नगद २ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेका छन् । माई नगरपालिका र सानिमा माईहाइड्रोसँग सहयोग मागेका छौँ । सहयोग हुन्छ होला भण्डारीले भने । आर्थिक अवस्था राम्रो नभएका भण्डारी परिवारले छोराको जीवन रक्षाको लागि सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन् । छोराको अवस्था सुधार हुँदैछ । थप आर्थिक सहयोग प्राप्त भए निको हुने आशा छ प्रेमप्रसादले भने, ‘दुइ छोरी मुनिको एउटा छोरा बुढेसकालमा पाल्छ कि भन्ने आशा थियो तर अहिले उसैलाई पाल्नुपर्ने अवस्था छ ।’
थाहा खबरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता