
इलाम : प्रमुख जिल्ला अधिकारीको रुपमा भर्खरै इलाम आएका विष्णु पोखरेललाई होटल एशोसिएसन इलामले स्वागत गरेको छ । उनी सँगसँगै इलाम आएका नयाँ प्रहरी प्रमुख एसपी विपिन कर्माचार्य, पशुपतिप्रसाद गणका मेजर सुनिल घिमिरे र क्याप्टेनद्वय दिल राना मगर र चिरञ्जीवी सुवेदी, जिल्ला समन्वय समितिमा नवनिर्वाचित सभापति गणेश बराल र इलाम नगरपालिकाका नवनिर्वाचित मेयर महेश बस्नेतलाई पनि स्वागत गरी होटल एशोसिएसन इलामले बधाई ज्ञापन गरेको हो । सोमबार सदरमुकाममा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई एशोसिएसनका अध्यक्ष देवी पौड्यालले इलामका महिला उद्यमीहरुले व्यवसायिक रुपमा तयार गरेको पुष्प गुच्छा प्रदान गरेका थिए ।
कार्यक्रममा नवआगन्तुक र नव विजयीहरुलाई सहभागीहरुले बधाई ज्ञापनसँगै स्वागत गरेका थिए । कार्यक्रममा सहभागीहरुले आगन्तुकसँगको अपेक्षा र जिज्ञासाहरु राखेका थिए । इलामका नवनियुक्त मेयर महेश बस्नेतले इलाम सम्भावनाको खानी भएकोले आर्थिक समृद्धिको लागि सबैले हातेमालो गरे इलामको सामाजिक, आर्थिक र भौतिक विकास कसैले नछेक्ने बताए । नयाँ सिडिओ विष्णु पोखरेलले इलामको होटल तथा अन्य व्यवसायको विकासमा प्रशासनबाट साथ सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।