लागत र प्राविधिक सेवा नपुग्दा रित्तिदै छन् व्यवसायिक गाई गोठहरु

  • धाम प्रसाद जबेगु

सुर्योदय : व्यवसायिक गाईपालन शुरु गरेका सागर पराजुलीका गाई गोठ रित्ता छन् । कुनै समय गाईको लर्को हुने गोठमा दाउराको हार भेटिन्छ । वि.सं.२०४५ सालमा १० वटा गाई खरिदबाट गाईपालन शुरु भएको सत्र वर्षपछि छोड्नुपर्यो । दूधको मूल्यमा कमि, प्राविधिक सेवा सुविधाको कमि, सरकारी प्रोत्साहान नहुदा गोठ रित्तो बनाएको किसान सागर पराजुलीले बताए । व्यवसायिक गाईपालन गरि पेशा छोड्ने सागर पराजुली एक्ला किसान होइनन् । १७ वटा सम्म गाई पालन गरि दैनिक ४५ लिटर दुध बिक्री गर्ने सुर्याेदय नगरपालिका तीनखुट्टेका कमल सुब्बाका पनि गोठ रित्ता छन् । वि.सं.२०४० सालबाट व्यवसायिक गाईपालन शुरु गरेका सुब्बा २० वर्ष पछि सबै बिक्री गरे । 
‘आफ्नै लगानीमा व्यवसायिक गाई पालन शुरु गरेको थिए । लागत बढी, दुधको मूल्यमा कमि लगायतका समस्याले बिचमै पेशा छोडे,’ उनले भने । अहिले गोठमा एक दूई वटा गाई घरमा दूध खान पालेको उनी बताउँछन् ।  दुध बिक्रीबाट अरबौँ रुपैयाँ कमाएका जिल्लाका किसानले पेशा छोड्दै गएका छन् ।  व्यवसायिक गाईपालनका लागि प्रख्यात मानिएको इलामका किसानले धान्नै नसक्ने गरि दानामा आएको मूल्यबृद्धिले गाईपालन छोड्दै आएका हुन् । लागत अनुसार दुधको मूल्य नपाएपछि किसानले पेशा छोड्दै आएको दुग्ध उत्पादक सहकारी संस्थाका पुर्व अध्यक्ष भिष्म प्रधानले बताए । 
‘गाईमा रोग लाग्दा गाउँमा पशु प्राविधिक पाइदैन । पशु बिमा भएपनि सबैको पहुँजमा नपुग्दा किसान ऋणमा डुबेका छन्,’ प्रधानले भने । जिल्लामा रहेका पशु प्राविधिक किसानका घरमा पुग्न नसक्ने भएकाले गाई उपचार अभावमा मर्ने गरेका छन् । ‘पशु प्राविधिक नभएपछि उपचार अभावमा गोठका गाई पालैपालो मरे । उपचार अभावले गाई मर्न थालेपछि बाँकी रहेका सबै बेचिदिए,’ सुर्याेदय नगरपालिकाका लोकबहादुर राईले बताए । गाईमा लाग्ने रोगको पहिचान नहुँदा पनि किसानले लाखौ रुपैयाँ गुमाउनु परेको छ । गाउँमा दक्ष प्राविधिक नभएपछि रोगको पत्ता नलाग्दा गाई मर्ने गरेका छन् । फिक्कलका प्रदिप पराजुलीको ५० हजार मूल्यमा बिक्री हुने दुई गाई एकाएक मरे । राती चार बजे एक्कासी गाई करायो गोठमा जाँदा गाई मरिसकेको रहेछ । प्रदिप पराजुली भन्छन्, घर नजिकै भएका पशु प्राविधिकको पनि काम भएन । दुधको मूल्यबृद्धि नहुँदा व्यवसायिक गाईपालनमा लागेका युवा पेशा छोडेर वैदेशिक रोजगारीमा जान थालेका छन् ।
सरकारले गाईपालक किसान लक्षित योजना नल्याएकाले यसमा संलग्न युवा शक्ति विदेश पलायन भएको हो । यसमा संलग्न युवा घरका गाई बिक्री गरि विदेसिने गरेका छन् । गाई खरिदका लागि नेपाल र भारतका विभिन्न जिल्लाबाट किसान इलाम आउने गरेका छन् । भारतबाट गाउँमै गाई खरिदका गर्न आउने गरेको हरिशचन्द्र तिम्सिनाले बताए । भारत सरकारले गाईपालनमा संलग्नलाई अनुदान दिन थालेपछि त्यहाँका किसानले बढी मूल्य प्रदान गरि गाई किन्ने गरेका छन् । नेपालका तराईका जिल्लाबाट किसान गाई खरिदका आउने गरेका छन् । मंसिरको पहिलो सातादेखि असारसम्म व्यापारी गाई किन्न आउने गरेको फिक्कलकी किसान सारदा पराजुलीले बताइन् ।
‘भारतमा गाई पाल्नका लागि अनुदान दिएपछि राम्रा गाई गाउँमा भेटिदैनन् । गाई खरिदका लागि आउने किसानले तोकिएको भन्दा बढी मुल्य दिने गरेको छन्, ’किसान पर्शुराम घिमिरेले भने । १० लिटर दुध दिने गाई गाउँमा पाउन समस्या छ,’ उनले थपे । सिजनमा जिल्लाबाट दैनिक चालीस वटासम्म गाई नेपालको तराईका जिल्ला र भारत निकासी हुने गरेको छ । पछिल्लो समयमा गाईलाई खुवाउने दाना लगायतका सामग्रीको मूल्य बृद्धिसँगै किसान यस पेशाबाट विस्थापित हुदै आएका छन् । एक लिटर दुध बिक्रीबाट एक बोतल पानी नआउने भएकाले किसान गाईपालन पेशाबाट विस्थापित हुन थालेको किसान पुष्प घिमिरेले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता