पक्की सडक पुगेपछि मुहार फेर्दै श्रीअन्तु

  • रोमन आचार्य

सूर्योदय (श्रीअन्तु), सूर्योदय नगरपालिका ४ श्रीअन्तुका देवनारायण पोखरेललाई समालबुङ्गदेखि फिक्कलसम्म सडक सञ्जाल बिस्तार भएपश्चात समाजिक जीवनमा आएको परिवर्तन देख्दा अच्चम लाग्छ । उमेरले ७८ नाघेका देवनारायण आफ्नो युवा अवस्थाका दिन सम्झन्छन् र आजसँग तुलना गर्छन । उनी भन्छन्– “पहिले दुःख थियो, बारीमा धान, कोदो, मकै भन्दा अरु हुदैन थियो”, पोखरेल थप्छन्– “अहिले घोरेटो बाटो मासिएर गयो, बाटामा गाडी गुड्न थाले, बारीमा फलेका बस्तुले बजार पाए, हाम्रो दुःखका दिन सकिँदै गयो ।” पोखरेलका अनुसार अन्तुका अधिकांस गोरेटो र घोरेटो बाटो मासिएर गइसकेका छन् । “उ बेला ढाडमा खुब नुनका भारी बोकेर हिँडियो, दुःख गरियो” । विगतमा गरेको दुःख सम्झिदै उनी भन्छन्– “अहिले सडक आएपछि अन्तुबासीले सुःख पाए ।” सडक सञ्जाल विस्तार भएसँगै स्थानीय अभिनारायण आचार्य पनि दुग्ध व्यवसायमा लागेका छन् । घरमै १ लाख भन्दा बढी लागतमा दुग्ध डेरी सञ्चालन गरेका आचार्यले घरको र संकलन गरेको दुग्धबाट घिउ, छुर्पी लगायतका दुग्धजन्य परिकार उत्पादन गर्छन् । 
उनी भन्छन्– “घोडाको माध्यामबाट अरुको भारी बोकिन्थ्यो, जिविकोर्पाजन हुँदै थियो”, पक्की सडक बनेसँगै घर घरमा गाडी आइपुग्न थाल्यो, परिस्थिति बदलिएसँगै पेशा परिवर्तन गरेर यता लागियो ।” सडक सञ्चालसँग अन्तु जोडिएसँगै उनीहरुको पेशा समेत परिवर्तन भएको छ । फिक्कल–श्रीअन्तु–बौद्धधाम सडक योजना अन्तर्गत सडक निर्माण भएपश्चात अन्तुबासीको जीवनशैलीमा एकाएक परिवर्तन आएको अन्तुबासी बताउँछन् । सडक सञ्जालले मानिसहरुको जीवनमा परिवर्तन ल्याएसँगै यस्तो अुनभव पोखरेल र आचार्यको मात्र होइन समग्र अन्तुबासीसँग छ । सडक सञ्जाल जोडिएसँगै यतिबेला अन्तुको अर्थतन्त्रमा पनि परिवर्तन आएको छ । अन्तुमा उत्पादन हुने खाद्यान्न तथा नगदेबालीले बजार पाएका छन् । यहाँँका हरेक किसानले घरमा कम्तिमा दुईवटासम्म गाई पालेका छन् । 
व्यसायिक रुपमा दुग्ध उत्पादन गर्छन् । केहिवर्ष अघिसम्म उत्पादित तरकारी तथा अन्य सामान बेच्न भारतीय बजार मिरिक दार्जिलिङसम्म पुग्नु पथ्र्यो । तर सडक बनेपछि स्थितिले धेरै फड्को मारेको छ । तरकारी किन्न व्यापारीहरु घरघरमै आईपुग्न थालेका छन् । केहि समय अगाडी सम्म माइजोगमाई गाँउपालिका नयाँबजारमा टेलरिङ्ग व्यवसाय गरेका सुनिल मोते अहिले व्यसायसँगै अन्तु फर्किएका छन् । अन्तु भञ्ज्याङ्गमा आफ्नो व्यवसाय सार्नुमा सडकको ठुलो भुमिका रहेको उनी बताउँछन् । उनी भन्छन्– “कपडाको प्रकार अनुसार अन्य आवश्यक सामाग्रीहरु दैनिक रुपमा ल्याउनु पर्ने हुन्छ”, मोते थप्छन्– “सधै हिँडेर जान सम्भव हुदैन, सडकले मलाई व्यवसायी बन्नमा सहयोग गरेको छ ।” पछिल्लो समय कमाउन गाउँ छोडेर लाखापाखा लागेकाहरु गाउँ फर्कन थालेका छन् । २०६४ सालमा सडक बनेसँगै गाउँमै सम्भावनाको खोजी गर्नेहरुको संख्या बढेको छ । सडकका कारण निकै ठुलो परिवर्तन भएको अन्तुबासीले महशुस गरेका छन् । “पहिले धेरै उत्पादित सागसब्जी खेर जान्थे”, स्थानीय एकराज घिमिरे भन्छन्– “आजकल व्यापारीहरु घरमै आउछन्, सागसब्जी खेर जाने अवस्था रहेन, आम्दानीको राम्रो माध्याम बनेको छ ।” पाखा पखेरामा आँखाले भ्याइन्जेल चिया बगान छ । कतै राताम्य अकबरे खुर्सानी, कतै लटरम्म फलेका स्कुस । खोला खोल्सी तिर अलैंचीका बोट, कतै कान्ला भरि अम्रिसो अनी व्यवसाय नगर्ने मान्छे भेट्नै मुस्किल जस्तै देखिन्छ श्रीअन्तु पुग्दा । 
सूर्योदयको दृश्यावलोकनका लागि परिचित अन्तु सडक सञ्जाल बिस्तार भएसँगै पर्यटन व्यवसाय पनि फस्टाएको छ । ३० वटा भन्दा बढि होमस्टे अनुमति लिएर सञ्चालनमा छन् । साना ठुला आकारका पसलको संख्यामा बृद्धि भएको छ । सूर्योदयको दृश्य हेर्न आउने मानिसहरुको घुँइचो बढ्न थालेको छ । “दशै तिहार सकिए पश्चात् मात्र पर्यटकहरुको आगमनमा बृद्धि हुन्थ्यो”, होमस्टे सञ्चालक धरणी घिमिरे भन्छन््– “विगत वर्षहरुमा अफ सिजनको रुपमा हेरिएको समयमा पनि पर्यटकहरुको भिड बढेको छ ।” सडक पुगेसँगै चिया बगान हेर्न आउने देखि लिएर चलचित्रको छायाङ्कन गर्न आउनेहरुको भीड लाग्ने गरेको छ । नेपालकै पहिलो घाम झुल्किने ठाउँ भएकाले घाम झुल्केको हेर्न आउनेहरु पनि उत्तिकै छन् । लेप्चा समुदायको संस्कार, संस्कृतिको अध्ययन गर्न, अन्तु पोखरीमा डुंगा सयर गर्न, फुलखेती हेर्न लगायत पैदल यात्राकालागि पनि पर्यटकहरु अन्तु घुम्न आउने गरेका छन् । अन्तुमा पर्यटकहरु गाउँका कुना कन्दरा सबैतिर घुम्न रुचाउने अन्तु पर्यटन प्रवद्र्धन समितिका पदाधिकारी बताउँछन् ।
हिउँदका समयमा अन्तुमा दैनिक आठ सय देखि एक हजार बढी पर्यटक पुग्ने गरेको प्रवद्र्धन समितिका अध्यक्ष धनकुमार आलेले बताए । सडकका कारण गाउँ नै समृद्ध बनेको उनीहरु बताउँछन् । प्रायः मानिस स्वावलम्बी बनेका छन् । काम गर्नेहरुका लागि पहिले जस्तो कमाउनकै लागि घर छोडेर विदेशिनु पर्ने बाध्यता हट्दै गएको छ । स्थानीयहरुले थोरैमा वार्षिक दुई लाखदेखि धेरैमा २० लाखसम्म कमाउने गरेका छन् । “सडकले विकास निर्माण मानिसहरुको सामाजिक परिवर्तनमा ठुलो भुमिका हुँदो रहेछ”, अन्तु पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष धनकुमार आले भन्छन्– “हामी किनमेल गर्न फिक्कल जाँदा पुरै एक दिनको समय खर्च हुन्थ्यो, आजभोली मानिसहरु तीन चार घण्टामा सबै काम सकेर घर आइपुग्छन् ।” सडककै कारण श्रीअन्तु दिनदिनै समृद्धिको शिखर चढिरहेको छ । गाउँ झन्झन् धनी बन्दै गएको छ । पूर्वमा पर्यटकिय क्षेत्रको रुपमा आफ्नो ख्याती कमाएको यो क्षेत्रले इलामको अर्थतन्त्रमा पनि महत्वपुर्ण भुमिका खेलेको छ । अन्तुलाई अझ पर्यटकिय गन्तव्यको रुपमा विकसित गर्ने हो भने मुल बाटो मात्र नभएर अन्य शाखा बाटोहरुको निर्माण र निर्माण गरिएका सडकहरुको स्तरोन्नति गर्न जरुरी रहेको अन्तुबासीहरु बताउँछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता