
इलाम १० कार्तिक : भुइँ मान्छेहरुको कथा कृति ‘भुइयाँ’ माथीको विमर्श इलाम सदरमुकाममा बिहीबार सम्पन्न भएको छ । फरक आयामले आयोजना गरेको कार्यक्रममा कृति लेखक एवम् झापा र इलामका दुई लेखक तथा समालोचकहरुले कृतिमाथी विमर्श गरेका थिए । सञ्चारकर्मी तथा कृति लेखक यज्ञस, झापाका साहित्यकार मुनाराज शेर्मा, इलामका प्राध्यापक तथा समालोचक राजेन्द्र बरालले कृतिको विश्लेषण गरे । इलामका साहित्यकार प्रकाश थाम्सुहाङले सहजीकरण गरेको विमर्श कार्यक्रमा जिल्ला स्थित लेखक, प्राध्यापक, साहित्यकार, समालोचक तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
मधेशी नौ जना महिला र एक पहाडी महिलाहरुको कथा समेटिएको कृति सामाजिक तथा यथार्थपरक रहेको चर्चा गरिएको थियो । भुमिहिन र भुमिवालाहरु बिचको अन्तरसम्वन्ध समेटिएको ‘भुइयाँ’ थारु भाषाबाट राखिएको लेखक यज्ञसले बताए । फरक आयामले जिल्लामा समसामयिक विषयमा साहित्यिक छलफल तथा विश्लेशणात्मक कार्यक्रम सञ्चालन गर्दै आएको संयोजक महेन्द्र विरहीले बताए ।