
इलाम, देवकुमारी घिमिरे उमेरले असी वर्षकी भइन् । उनी हाल महिला जागरण संघ इलामद्धारा प्रवद्र्धित माईभगवती बृद्धाश्रममा बस्छिन् । उनको दैनिकी आजकल बृद्धाश्रम परिसरमा लगाइएको फूलबारीमा नै बित्ने गरेको छ । उनी मात्र हैन पवित्रा विक लगायत त्यहाँ बस्ने सबै बृद्धबृद्धा मन भुलाउन र फूलको स्याहार गर्न लागि पर्छन् ।
गत वर्षामा लगाइएको फूल अहिले ढकमक फुलेको छ । हुनपनि परिवारबाट राम्रो ब्यवहार नभएर हो या छोराछोरीहरुबाट टाढा बस्दा उनीहरुको मन शान्त भने नभए पछि फूलबारीले मन भुलाएको उनीहरु बताउँछन् । देवकुमारी घिमिरेले भनिन्– ‘‘फूल फूले पछि परिवारको याद आउँदो रहेछ, मन भुलाउने ठाउँ भएको छ यो फूलबारी हाम्रो लागि ।’’ उनले मुस्कुराउँदै थपिन्– ‘‘परिवारको माया पनि भुलाइदियो यो फुलले ।’’
अठहत्तर वर्षिय पवित्रा विकले समेत फुलबारीमा काम गर्दा आनन्द लाग्ने बताइन् । परिवार बिर्सियाएको बताउने विकले पनि फूल फुलेपछि यहाँ नै आनन्द महसुस भएको बताइन् । इलाम नगरपालिका वडा नम्वर दशमा रहेको बृद्धाश्रम मेची राजमार्ग नजिकै माइखोलाको किनारामा छ । विक्रम संवत २०६३ साल माघ २३ गते स्थापना भएको बृद्धाश्रममा हाल नौ जना बृद्धबृद्धा छन् । दश रोपनी क्षेत्रफलमा फैलिएको बृद्धाश्रममा करिब दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाइएको छ । विशेष गरेर यस वर्षको दिपावलीमा बिक्री गर्ने र आम्दानी भएको पैसाले बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुकै स्याहारमा खर्च गर्ने माई भगवती बृद्धाश्रम इलामका सदस्य राजेश पराजुलीले बताए ।

फूलखेती गर्न महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा रहेको हटीकल्चर विभागका प्रकाश भट्टराइले दश हजार मुल्य बराबरका सयपत्री फूलका बिरुवा निशुल्क उपलव्ध गराएका थिए ।
बृद्धाश्रममा गरिएको फूलखेती यो पहिलो पटक गरिएको हो । खाली जमिनलाई सदुपयोग गर्न र बृद्धबृद्धाहरुको मन भुलाउने गतिलो माध्यम बनेको छ सो फूलबारी । फूलबारीमा लगाइएका फूलहरु प्राविधिक ज्ञानका कारण करिब आधा जस्तो मरे पनि आधाभन्दा बढी फुलहरु राम्रोसँग फुलेका छन् । फुलेका फूलको सुगन्ध लिन र फूलको स्याहार गर्न उनीहरु दैनिक आधा भन्दा बढी समय फूलबारीमा नै रमाउने गरेका छन् । ति फूलहरु आगामी कात्तिक दुई गते इलाम बजारमा पु¥याएर बिक्री गरिने आश्रमका पराजुलीले बताए ।