राष्ट्रिय चिया नीति कार्यान्वयन नहुँदा चिया क्षेत्रमा समस्या

सुर्योदय (फिक्कल), ५ कार्तिकः राष्ट्रिय चिया नीति कार्यान्वयन हुन नसक्दा किसान, व्यवसायी तथा उद्यमी मर्कामा परेका छन् । वि.सं.२०५७ सालमा आएको राष्ट्रिय चिया नीतिमा छोटो समयमै चियालाई अन्तराष्ट्रिय मापदण्डमा पु¥याउने लगायतका बुँदाहरू समेटिका थियो । चिया नीति कार्यान्वयन नहुँदा किसानहरुले हरियो पत्तीको मेहनत अनुसारको मुल्य पाउन सकेका छैनन् भने तयारी चियाले समेत अन्तराष्ट्रिय बजार पाउन सकेको छैन । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको हो । ‘चिया उद्यमीलाई ६ वर्षसम्म सुलभ दरमा कर्जा उपलब्ध गराउने चिया नीतिमा लेखिएको छ । तर आजसम्म एक रूपैयाँ पनि त्यो शर्तमा कर्जा उपलब्ध गराइएको छैन ।’ चिया उद्यमी उदय चापागाईले भने ‘चिया नीतिका बारेमा सरकारले कहिलै पनि चासो नदिएकाले चिया उद्यमीसमेत पलायन हुनु पर्ने स्थिती आएको छ ’। सरकार, चिया तथा कफी विकास बोर्डलगायत चियासँग सम्बन्धित संस्थाहरूले समेत चियाका बारेमा चासो नदिँदा यो अवस्था आएको चापागाईको बुझाइ छ ।
इलाममा अर्गानिक चिया र चिया पर्यटनको प्रचुर सम्भावना भएपनि कामदार अभावका कारण गुणस्तरीय टिपाइ नहुँदा तयारी चियाको गुणस्तर खस्कदै गएको चिया तथा कफी विकास वोर्डका निर्मित प्रमुख केन्द्रकुमार लिम्बुले बताए । २ पात एक सुइरो टिप्नुपर्ने चिया कामदार अभावका कारण २ फुट लामो टिपाइ गरेको तयारी चियाको समेत गुणस्तर खस्केको उनले बताए । अहिले आएर अर्गानिक चिया बगानमा समेत बिषादीको प्रयोग गर्नाले तेश्रो मुलुकमा बिक्री वितरणमा समस्या रहेको नेपाल स्मल टि प्रा.लिका पुनम राईले बताए । केही महिना अघिमात्र हिमालयन सांग्रिला टि प्रोडयुर्ससले जर्मन निर्यात गरेको अर्गानिक चियामा प्रेस्टिसाइड भेटिएपछि फिर्ता आयो । 
चिया बगान नजिकै राउन्डअप नामक झार मार्ने औषधीको प्रयोगका कारण हरियो चियापत्तीमा असर देखिएको हो । किसान र उद्यमी चिया हरियो चियापत्तीको मुल्यलाई लिएर निम्तिएको विवादका कारण तयारी चियामा समेत असर पुगेको छ । अर्गानिक भनिएपनि बिषादी प्रयोग बढदै जाँदा गुणस्तर खस्किएको चिया बिक्री गर्नुपर्ने बाध्यता रहेको चिया तथा कफि विकास बोर्डको समन्वय बैठकका सहभागीहरुले बताएका छन् । नेपालमा २७ हजार ६८८ हेक्टर क्षेत्रफलमा चिया खेती हुन्छ भने १७ हजार बढी किसान चिया खेतीमा आबद्ध छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता