- टीका खतिवडा

बढ्दो आधुनिकतासँगै देउस–ीभैलीमा समेत आधुनिकता घुसिसकेको छ । रेडिमेट गाना, आधुनिक बाजाको प्रयोग लगायतले देउसीमा आधुनिकता भित्रिसकेको महसुस यस वर्षको तिहारमा खेलिएको देउसीबाट प्रस्ट हुन्छ । शहरबजार, गाउँ र टोलटोलमा समूह बनाएर देउसी खेल्नेहरुको उल्लेख्य उपस्थिति देख्न सकिन्थ्यो । केही समूह रमाइलो गर्न मात्र त केही समूहले उठेको रकम सामाजिक कार्यमा खर्च गर्ने गरि देउसी खेले । गाउँघर तथा बजारमा हुने सामाजिक कार्यमा आवश्यक सामाग्री खरिद गर्न पनि देउसीले पहिलादेखि नै मद्दत पु¥याउँदै आएको छ । इलाम नगरपालिका एक साँखेजुङमा भने संस्कृति जोगाउन अनि नयाँ पुस्तालाई सक्कली देउसी–भैलीको ज्ञान दिलाउन देउसी–भैलो सञ्चालन गरियो । स्थानिय साखेजुङ युवा देउसी–भैलो समूहले यस वर्ष पनि स्थानिय बाजाको प्रयोग गरेर देउसी खेल्यो । मादल, हार्मोनियम लगायतका बाजाको प्रयोग गरि मुखले भट्याउँदै खेलिएको देउसी निकै आकर्षक भएको थियो । बालबालिका र बृद्धको उल्लेख्य उपस्थिति रहेको सो देउसी–भैलोमा युवापुस्ताले भने खासै चासो राखेन । नयाँ पुस्तालाई भट्याउँदै देउसी खेल्ने परम्परा सिकाउन र संस्कृतिको जगेर्ना गर्न देउसी खेलिएको खेल संयोजक गोविन्द ढकालले बताए । विगत चार वर्ष अगाडीबाट निरन्तर संचालन गरिँदै आइएको देउसी–भैलीबाट उठेको रकम सामाजिक कार्यमा नै प्रयोग गरिँदै आइएको उनले बताए । यस वर्ष समेत ३० घरमा खेलिएको देउसीबाट नगद ३० हजार रकम संकलन गरिएको र सो रकम समेत सामाजिक कार्यमा नै खर्च गरिने उनले बताए । त्यस्तै देउमाई नगरपालिका दुई साब्जुङमा पनि केहि समूहहरुले संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने उद्देश्य सहित देउसी–भैली सञ्चालन गरे । गाउँमा हुने विवाह, ब्रतबन्ध लगायत सामाजिक कार्यमा आवश्यक सामाग्री खरिद गर्न देउसी सञ्चालन गरिएको स्थानिय युवराज खनालले बताए । विक्रम संवत २०६४ साल देखि निरन्तर सञ्चालन गरिँदै आइएको देउसीले गाउँमा आवश्यक सामाग्री खरिद गरिँदै आइएको उनले बताए । यस वर्षको देउसी–भैलीबाट उठेको रकमले बिरामी बोक्न आवश्यक स्टेचर सहित अन्य सामाग्री खरिद गरिने उनले बताए ।
प्रायः बजारमा खेलिएका देउसी–भैलोमा बढी आधुनिकता भित्रिएको महसुस हुन्थ्यो । इलाम बजार, मंगलबारे, फिक्कल, पशुपतिनगर, बिब्ल्याँटे, माइ नगरपालिकाको दानाबारी (शुक्रबारे) लगायतका बजारमा त झनै हिन्दी गीतमा समेत नृत्य निकालियो । देउसी गित र भट्याउँदै खेलिने देउसी–भैलीले मात्र संस्कृति जोगाउन मद्दत पु¥याउने पाका उमेर समूहका बृद्धबृद्धाहरुको भनाई छ । देउसी–भैलो रमाइलो सँगसँगै संस्कृति जोगाउन र संकलित रकम सामाजिक कार्यमा खर्च गरिने गरि खेलिएको भए पनि केहि देउसीले विकृति समेत भित्रिएको बुढापाकाहरुले बताए । त्यसलाई रोक्न युवा पुस्ता नै लाग्नु पर्ने समेत उनीहरुको धारणा थियो ।
घट्दै गए देउसी–भैली समूह
विगत वर्षहरुमा जती समूह देउसी खेल्न आउँथ्ये यस वर्ष त्यति समूह आएनन् । जिल्लाका प्रायः सबै ठाउँमा देउसी–भैली खेल्ने समूह कम मात्रामा आएको स्थानिय बासिन्दाले बताए । वैदेशिक रोजगारीले समेत देउसी–भैली खेल्ने समूह घटेको हो । प्रायः गाउँमा रहेका युवाहरु वैदेशिक रोजगारीमा नै छन् । युवा समूह नै बाहिर रहेपछि बालबालिका र बृद्धबृद्धाको समूहले खासै देउसी–भैलोमा चासो नराख्ने गरेको पाइयो ।
आशिक दिने तरिका पुरानै
देशमा ठुला–ठुला परिवर्तन भए । प्रजातन्त्र, लोकतन्त्र हुँदै जनताले गणतन्त्र स्विकारे । गणतन्त्रकै अनुभुती गरिरहेका जनताले देउसीभैली समूहको आधुनिक बाजासहितको देउसी पाए तर आशिकमा भने आधुनिकता पाएनन् । देउसी–भैलीको अन्त्य हुनेबेलामा आशिक दिइन्छ । अन्त्यमा दिइने आशिकमा भने जनताले पुरानै आशिक पाइरहेका छन् । यस वर्ष पनि देउसी–भैली समूहले पुरानै आशिक दोहो¥याए । उनीहरुले यस वर्ष पनि– ‘आहै यसैमा घरका, आहै परेवा पंक्षी, आहै उड्दामा खेरी, आहै सुर्यै छेलुन्, आहै बस्दामा खेरी, आहै पृथ्वी ढाकुन्’ भन्ने खालका आशिक दिए । ताकि उनीहरुले सो आशिक दिएका घरमा परेवा नै हुन्थेनन् । त्यस्तै ‘आहै यसैमा घरका, आहै बाबै आमै, आहै चिरञ्जीवी हउन्’ मानिस अमर हुन्छ भन्ने जानीजानी उनीहरुले सो आशिक दिन भुलेनन् । उता ‘आहै यसैमा घरका, आहै बाबै चैँले, आहै माटोमा छुँदा, आहै अन्नै हओस, आहै यसैमा घरकी, आहै आमै चैँले, आहै पानीमा छुँदा, आहै तेलै हओेस’ सम्मका आशिक दिने देउसेले खेती नगरी अन्न र तेल उत्पादन हुने सपना सम्म देखाए । यसपाली आउँदा टीनको छानो र आगौँ आउँदा सुनको छानो होस भन्ने सम्ममा आशिक विगत वर्ष पनि दिएका थिए । सुनको छानो लगाउने घर एलेसम्म भेटिएकै छैन । यस वर्ष पनि देउसेले ढाँटेरै दान लिए । यो शैली आगौँ नदोहोरियोस हाम्रो शुभकामना !