इलाममा चर्चित नेताको रोचक प्रतिस्पर्धा, उम्मेदवारलाई मतदाताको प्रश्नैप्रश्न


  • प्रकाश नेपाल

इलाम, मंसिर १२ : पहिलो चरणको निर्वाचन सकिएलगत्तै दोस्रो चरणको सरगर्मी बढेको छ । पूर्वी पहाडि जिल्ला इलामका उम्मेदवारले चुनावी प्रचारलाई तिव्रता दिएका छन् ।
पूर्वसभामुख र पूर्वप्रधानमन्त्रीसँगै केही युवाले पनि प्रतिस्पर्धा गरेपछि इलामको चुनाव रोचक देखिएको छ । इलाममा वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने बताइएको छ ।
दोस्रो चरणअन्तर्गत इलाममा २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु मत माग्न अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
उम्मेदवार मतदाता रिझाउन व्यस्त देखिन्छन् भने मतदाता पनि उम्मेदवारलाई तौलिरहेका छन् ।
इलाममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा उत्रिएकाले पनि यहाँ सबैको ध्यान खिचिएको छ ।
प्रतिनिधिसभा दुई वटा क्षेत्र रहेको इलाम क्षेत्र नम्बर १ मा बामगठबन्धनका एमाले उम्मेद्वार झलनाथ खनालको प्रतिस्पर्धा नेपाली कांग्रेसबाट भूपेन्द्र कट्टेलसँग हुंदैछ ।
क्षेत्र नम्बर २ मा बामगठबन्धनकै एमालेका उम्मेद्वार सुवासचन्द्र नेम्वाङको प्रतिस्पर्धा काँग्रेसका केशव थापासँग हुँदै छ ।
यसअघि तीन वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक भने दुई वटा मात्र कायम गरिएको छ ।
२०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा खनाल क्षेत्र नम्बर १, नेम्बाङ् क्षेत्र नम्बर २ र थापा क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।
अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिले सदरमुकाममा निर्माणाधीन सुकिलुम्बा विमानस्थललाई पूर्णता दिन, ग्रामिण सडकको स्तरोन्नति गर्न, सुविधा सम्पन्न अस्पताल बनाउन र सित भण्डार गृह सञ्चालन गर्न नसकेको गुनासो मतदाताले गरिरहेका छन् ।
उम्मेदवारहरु मत माग्न गाउँगाउँमा जाँदा मतदाताले भने अघिल्लो पटक गरेको कामका बारेमा स्पष्टीकरण सोध्ने गरेका छन् ।
स्थानीय विकासलाई प्राथमिकतामा राख्दै सबै उम्मेदवारले मत मागिरहेका छन् । तर उम्मेदवारका आश्वासनप्रति मतदाता अझै विश्वस्त हुन सकेका छैनन् ।
उनीहरुले यस पटक सचेत भएर मात्र मतदान गर्ने बताउँछन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ मा खनालप्रति जनताको गुनासो बढी छ भने क्षेत्र नं २ मा नेम्वाङ र थापाप्रतिको गुनासो पनि कम छैन ।
त्यसैले पनि आगामी निर्वाचनमा कुन उम्मेदवारले बाजी मार्छन् भन्न सकिने अवस्था भने नभएको मतदाताको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता