
सुर्योदय (फिक्कल), १० पुस : पुर्वी इलामका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलको भवन पहिरोले तानेको ६ महिना बितेपनि मर्मतको पहल भएको छैन । तीन स्थानीय तहका ८० हजार बढी जनसंख्यालाई स्वास्थ्य सेवा दिँदै आएको स्वास्थ्य केन्द्रको भवन छेउमा वि.सं२०७४ साउन २७ गते पहिरो गएको थियो । स्वास्थ्यकर्मी बस्दै आएको आवास भवनको जगबाट गएको पहिरो नियन्त्रण नहुँदा बिरामी उपचार गरिदै आएको मुख्य भवन समेत जोखिममा परेको छ ।
पहिरोले स्वास्थ्य केन्द्रको क्वाटर भवनको जग नै तानेपछि पानी परेका बेला स्वास्थ्यकर्मी नबस्दा आकस्मिक उपचार प्रभावित हुने गरेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर कुसल वस्तीले बताए । केन्द्रको ठेसवाल समेत क्षति पुर्याएको पहिरो नियन्त्रणका लागी स्वास्थ्य मन्त्रालयका ३ वटा टोली अनुगमनका लागी आएपनि अहिलेसम्म काम सुरु नभएपछि स्वास्थ्यकर्मीहरु चिन्तित भएका छन् । पहिरोको निरिक्षण गरेकी स्वास्थ्य मन्त्रालयको निमित्त सचिव डा.पुष्पा चौधरीले नियन्त्रणका लागि पहल गरिरहेको र बजेटका लागि अर्थ मन्त्रालयमा पहल भइरहेको बताईन् । पहिरो नियन्त्रण गर्न प्राविधिक टोलीले समेत आएर निरिक्षण गर्दा २ करोड खर्च लाग्ने अनुमान गरेको छ ।
पहिरो गएपछि गत वर्षातका बेला स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले आवास गृह छोडेर बाहिर बस्दै आएका थिए । जसका कारण स्वास्थ्य सेवा प्रभावित भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा सुर्योदय नगरपालिका, माई जोगमाई गाउँपालिका, रोङ गाउँपालिका क्षेत्रका स्थानीय बासिन्दाले उपचार सेवा लिँदै आएका छन् । दैनिक दूई सय ५० बिरामीको उपचार हुँदै आएको स्वास्थ्य केन्द्रमा तीन जना डाक्टर र स्वास्थ्यकर्मी रहेका छन् ।