- नमीन ढकाल
सुर्योदय (फिक्कल), 9 पुसः मेची राजमार्गको कन्याम खण्डमा सुर्योदय नगरपालिकाको अगुवाइमा १५ मिटर कायम गर्न सुरु गरिएको छ । नगरपालिकाले डिभिजन सडक कार्यालय इलाम र नापी कार्यालयका प्राविधिककको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पालटांगे सम्म चार किलोमिटर क्षेत्रमा सडकको दायाँ बायाँ सडक ऐन अनुसारको बनाउन शुरु गरिएको हो । मुख्य सडक अतिक्रमण समस्या समाधान समितिका संयोजक शिव बस्नेतले पर्यटकीय क्षेत्र कन्यामको सुन्दरतामा नयाँ रौनक थप्नका लागि पहिलो चरणमा सडक विस्तारको लागि ‘ट्यागिङ’ शुरु गरेको बताए । नगरपालिकाले बाटो बढाउन लागेको सो क्षेत्र नेपाल चिया विकास निगम अन्र्तगतको संघाई समुहलाई ठेक्कामा दिएको कन्याम चिया बगानको क्षेत्रमा पर्दछ । सडकको क्षेत्र छुट्याई सकेपछि चियाका बुट्टा काट्न शुरु गर्ने र तत्काल सडक क्षेत्रलाई खन्ने काम शुरु गरिने उनले बताए । कन्याम क्षेत्रमा सडक विस्तार गर्दा सडक पेटीमा रहेका कतिपय पसलहरु पनि हट्ने देखिएको नापी कार्यालय इलामका सर्वेक्षक मनोजकुमार यादवले जानकारी दिए । उनले भने ‘सडक अतिक्रमण गरेर बसेको सो क्षेत्रका घरहरु भत्किने देखिन्छ ।’ विभिन्न स्थानमा सडकको लगत कट्टा गरिएपनि कतिपयले लगतकट्टा समेत नगरेको उनले बताए । सडक ऐन २०३१ अनुसार मेची राजमार्ग विस्तार गर्नका लागी अतिक्रमण गरिएका क्षेत्रमा पर्ने संरचनाहरु हटाइने डिभिजन सडक कार्यालयका प्रमुख खडगप्रसाद श्रेष्ठले जानकारी दिए । उनले भने ‘सार्वजनिक सडक ऐन कार्यान्वयन गर्ने काम हाम्रो भएकाले सडकलाई १५ मिटरको बनाउनका लागी नगरपालिकासँग सहकार्यमा अघि बढाइएको हो ।’
संयोजक बस्नेतले कन्याममा सडक बिस्तारपछि व्यपारी केन्द्र फिक्कलमा पनि सडक विस्तारको काम शुरु हुने बताए । २ दिनको सडक नापजाँचपछि पहिलो चरणमा राजमार्ग अतिक्रमण हटाउन १५ दिने सुचना निकालेर कन्याम चिया बगान क्षेत्रबाट सडक विस्तारको काम शुरु गर्ने र दोस्रो चरणमा हर्कटे क्षेत्रमा सडक विस्तारको काम शुरु गरिने भएको छ । हर्कटे बजार क्षेत्रमा राजमार्ग अतिक्रमण गरेर बनाइएका दर्जनौ घरहरु भत्किने बस्नेतले जानकारी दिए । सु्चना दिएपछि स्थानीयले आफ्ना संरचना नहटाए नगरपालिका आफैले हटाउने तयारी गरेको छ ।