पशुपतिनगर, ३० पुसः पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी सकारात्मक देखिएका छन् । पुर्वी क्षेत्रका सीमा नाकाको स्थलगत निरीक्षण गर्न शनिबार पशुपतिनगर आएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे पहल गर्ने बताए ।
पशुपतिनगरमा नगर प्रमुख लगायत जनप्रतिनिधिहरुसँग कुरा गर्दै पुरीले नेपाल भारत व्यपारका लागि आप्mनो पहल हुने बताए । उनले भने ‘हामी सीमा क्षेत्रको भौतिक संरचनाको विषयमा हेर्दैछौ कसरी दुवै क्षेत्रका नागरिक र व्यापारका लागी सहज हुन्छ’ झापाको काकडभिट्टा नाकाको निरिक्षणपछि इलाम आएका उनले भन्सार कार्यालय, सीमा क्षेत्रलगायतको स्थलगत निरीक्षण गरेका थिए ।
स्थानीय जनप्रतिनिधि र व्यवसायीले राजदूत पुरीसमक्ष पशुपतिनगरमा भन्सार, क्वारेन्टाइन र अध्यागमन कार्यालय खोल्न माग गरेका थिए । पुरीले पशुपतिनगर नाका हुँदै आउने पर्यटकहरुको संख्याको बारेमा चासो राखेका थिए । स्थानीयले राजदूत पुरीसमक्ष सीमा सडक विस्तार र स्तरोन्नतिको पनि माग गरेका थिए । जवाफमा पुरीले सीमा सडकको ठूलो परियोजना अहिले सम्भव नहुने भन्दै भन्सार कार्यालय खोल्न पनि कमै चासो दिएको बताए ।
पर्यटकीय सम्भावना बोकेको जिल्लाकै भारतीय नाकामा अध्यागमन कार्यालय नहुँदा यता आउन चाहने पर्यटक मुखैमा आएर फर्किन बाध्य छन् । पशुपतिनगरभन्दा ३६ किलोमिटरमा रहेको दार्जिलिङ वर्षेनी हजारौं पर्यटकले खचाखच रहन्छ । त्यहाँ आएका तेस्रो मुलुकका पर्यटक पशुपतिनगर छेउसम्म आउँछन् तर सँगै रहेका इलामका रमणीय स्थान घुम्न पाउँदैनन् ।