
मंगलबारे, २९ पुसः जन्मदा र मृत्यु हुँदा नगद पाँच हजार दिने निर्णयले इलाम देउमाईवासीमा खुसीयाली छाएको छ । नगर सभाले शिशु जन्मदा लालन–पालनमा सहयोग पु¥याउने र मृत्यु पछि दाह संस्कारमा सहयोग स्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसीयाली छाएको हो । जन्म र मृत्युमा सहयोग स्वरुप नगद दिने ब्यवस्था एक नम्बर प्रदेशकै पहिलो पटक भएको बताइएको छ । जनप्रतिनिधि चुनिए पछिको पहिलो नगर सभाले यस्तो निर्णय गरेको हो ।
सुरक्षित मातृत्व र आमा बच्चा सुरक्षित कार्यक्रम अन्तर्गत जन्म र मृत्युमा नगद उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सुर्यप्रसाद पोखरेलले जानकारी दिए । त्यस्तै बृद्ध–बृद्धालाई राज्यले दिने पोशाक भत्तामा समेत देउमाई नगरपालिकाले थपेर वितरण गर्ने निर्णय गरेको छ । ७० वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई बृद्धभत्तामा सहयोग र दिर्घरोगीहरुलाई अस्पतालको पहुँचसम्म पु¥याउन नगद पाँच हजार प्रदान गर्ने निर्णय गरेको प्रमुख पोखरेलले बताए । नगरभित्र जन्मने बच्चाको स्वास्थ्य स्थिति राम्रो होस भनेर यस्तो कार्यक्रम ल्याइएको कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले जानकारी दिए ।
नगरपालिकाले हालसम्ममा ५२ जना महिलालाहरुलाई पोषण खर्च र ४२ जनालाई काजक्रिया खर्च वितरण गरिसकेको उनले बताए । एक आर्थिक वर्षमा नगरपालिकाले तीन सय जना महिलालाई सो रकम उपलब्ध गराउने लक्ष राखेको छ । वि.सं.२०७१ सालमा नगरपालिका घोषणा भएको यस नगरमा ३२ हजार ३ सय ६६ जनसंख्या छ । यस्तो कार्यक्रमले नगरवासीलाई जन्म र मृत्युमा सहज भएको स्थानिय युवराज खनालले वताए । यो कार्यक्रमलाई निरन्तरता दिनु पर्ने स्थानियको भनाई रहेको छ ।