इलाममा अदुवा निकासी ठप्प : किसान र ब्यापारी मारमा

इलाम, ५ माघ : निकासी ठप्प भएपछि अदुवा उत्पादक किसान तथा ब्यापारी मार्कामा परेका छन् । भारतीय बजार निकासी हुने अदुवा निकासीमा रोक लगाए पछि इलामका किसान तथा ब्यापारी मार्कामा परेका हुन् । सुरुमा नै किसानहरुले बजारसम्म पु¥याएको अदुवा पनि ब्यापारीको गोदाममा नै थन्किएको । बिक्नै छाडेपछि किसानहरुले बारीमा नै अदुवा नखनी  राखेका छन् ।
 किसानबाट करोडौं मुल्यमा खरिद गरिएको अदुवा थन्क्याएर राखिएको बिब्ल्याँटे इलामका अदुवा ब्यापारी कृष्ण पौडेलले बताए । पौडेलका अनुसार केही दिन यता मात्र अदुवा निकासी नहुँदा जिल्लामा करोडौँको अदुवा गोदाममा थन्काएर राख्नु परेको छ । किसानले अदुवा बेच्नका लागि दैनिक सम्पर्क गर्ने गरेपनि यसअघि संकलन गरेको अदुवा बिक्री नभएपछि हैरानी भएको उनी बताउछन् ।  ब्यापारीहरुले किसानबाट संकलन गरेको अदुवा गोदाममा नआटेपछि खुल्ला सडकमा समेत राखेका छन् । किसानहरुले भने मूल्य पाउने आशमा बारीबाट निकालेको अदुवा भण्डारण गर्ने स्थल नहुँदा अदुवा कुहिने गरेको बताएका छन् । जिल्लामा किसान र ब्यापारीसँग समेत आधुनिक भण्डारणको सुबिधा नहुँदा करिब २० प्रतिशत अदुवा खेर जाने गरेको ब्यापारीहरुले बताएका छन् ।
 कफल्लो जातको ब्यापारको रुपमा लिईने अदुवा समयमै बिक्री गर्न नसके गोदाममै उम्रिने र कुहिने समस्या आउने बताइएको छ । जिल्लाको माइजोगमाई गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । अदुवाले केही वर्षयता राम्रो मुल्य नपाउँदा किसानहरु अदुवा खेतीको विकल्प समेत खोज्न थालेको बिब्ल्याँटेका अदुवा कृषक सागरनाथ दाहालले बताए । 
कृषक दाहालका अनुसार गाउँमा अदुवालाई ब्यवसायिक रुपमा उत्पादन गर्नका लागि अदुवा कृषक समूह नै गठन गरेर अहिले गाउँ–गाउँमा अदुवा उत्पादन गर्ने गरेपनि सोचेजस्तो आमदानी लिन नसकेको गुनासो गरे । बजारमा अहिले अदुवा प्रतिकेजी १८ देखि २० रुपैयाँमा किनबेच हुने गरेको छ । इलाममा यसवर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा बृद्धि भएको छ । इलाममा तीन हजार दुई सय ३३ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको र प्रतिहेक्टर १४ मेट्रिक टन अदुवा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ । अदुवाका लागि मुख्य बजार भारत भएपनि बिना कारण भारतीय बजारमा पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा परेका छन् । अदुवा उत्पादन बढ्दा मुल्य कम हुने र कम उत्पादन हुँदा मुल्य बढ्ने समस्याले अदुवा किसानहरुलाई हैरानी हुने गरेको किसानहरुले बताएका छन् । उनीहरुले अब स्थानीय निकायले कृषकद्धारा उत्पादित कृषिजन्य बस्तुको मुल्य निर्धारण गर्नुपर्ने माग समेत राखेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता