इलाम, २४ पुसः इलाम जिल्लाको सुर्योदय नगरपालिका ८ मा रहेको अलँैची विकास केन्द्रले अहिले सम्म देश भरी ४२ जिल्लामा विस्तार भएको अलँैची खेतीको विस्तार र निरोगी बिरुवा उत्पादनमा सहयोग गर्दै आएको छ । पहाडी तथा हिमाली जिल्लाको ओसिलो जमीनमा हुने अलैँची खेती समुन्द्री सतहबाट ६०० मिटरदेखि २१०० मिटर उचाईमा राम्ररी हुने गरेको छ । इलाम जिल्लामा मात्र नभएर देशमा अहिले ४२ जिल्लामा अलैँची खेती हुने भएकाले अलैँची विकास केन्द्र इलाममले जिल्लाका कृषि विकास कार्यालयहरुसँग समन्वय गरेर विभिन्न जिल्लामा तालिम सञ्चालन गर्ने र बिरुवा वितरण गर्ने गरेको अलैची विकास केन्द्रका वरिष्ठ अलैँची विकास अधिकृत पदमप्रसाद अधिकारीले जानकारी दिए ।
पूर्वी नेपालको आम्दानीको मुख्य स्रोतको रुपमा विकास भएको अलैँची खेती नेपालको इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा लागायतको जिल्लाहरुमा पहिले देखिनै खेती भईरहेको छ । हाल आएर नेपालका अन्य जिल्लाहरु दोलखा, लमजुङ, रोल्पामा पनि अलैँची खेती विस्तार भई रहेको अलैँची विकास अधिकृत अधिकारीले जानकारी दिए । नेपालमा विषेश गरी ६ जातका अलैँची केन्द्रले सिफारिस गर्ने गरेको छ । भौगोलिक बनावट अनुसार अलैँचीको जात सिफारिस गर्ने गरेको अधिकारीले बताए । नेपालको ६०० मिटरदेखि १२०० मिटर उचाईंमा जिर्मले र डम्बरसाई जातको अलैँची लगाउन उपयुक्त हुने त्यस्तै १२०० देखि १६०० मिटर उचाईमा गोल्साई र साउने जातको र १५०० देखि २१०० मिटरको उचाईमा रामसाई र भार्लाङ्गे जातको अलैँची लगाउन उपयुक्त हुन्छ ।
अहिले अलैँची बगानमा डडुवा, गानो कुहिने लगायतका रोगहरु देखा परेका छन् । रोग नियन्त्रणको लागि केन्द्रबाट निरन्तर काम भई रहेको र विभिन्न ठाउँमा रोग नियन्त्रण पनि भएको छ । इलाम लागायत पूर्वी पहाडमा एक पटक मासिएको अलैँची अहिले भने निरन्तर बृद्धि भई रहेको छ । इलाममा अहिले १७ हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ । कृषि विकास केन्द्रले गुणस्तरीय अलैँची उत्पादनको लागि कृषकहरुलाई निरोगी बिरुवा वितरण, अलैँचीमा मलखादको व्यवस्था लगायत अलैंची सुकाउनको लागि प्रयोग गरिने परम्परागत भट्टीलाई स्तरोउन्नति गरेर नयाँ तरिकाले सुकाएर गुणस्तरीय उत्पादनमा प्रोत्साहन गरिरहेको पनि अधिकारीले जानकारी दिए ।
अलैँची विकास केन्द्रले देशभरि सेवा दिएको जानकारी गराए पनि इलाम जिल्ला भित्रै रहेका कृषकहरुले पनि अलैँची विकासबाट कुनै सेवा सुविधा नपाएको गुनासो गर्दछन् । देउमाई नगरपालिका कृषक रामकुमार राईले भने अलैंची विकासले सहयोगको नाममा अहिले सम्म केही पनि गरेको छैन । रोग नियन्त्रणको लागि अनुरोध ग¥यौ तर त्यो पनि गरेन हामी आफैले विभिन्न ठाउँमा गएर अग्र्यानिक औषधि गरिरहेको छौँ । अझै पनि नेपालमा अलैंचीको बजारीकारणको लागि भने नेपाल सरकारले खासै चासो नदिएकोले गर्दा पनि बिक्रीमा भने समस्या नै रहेको किसानहरुको भनाई रहेको छ । अहिले नेपालमा कृषि बजार विकास निर्देशनलायले बजार व्यावस्थापन गर्ने काम गरिरहेको छ । अहिले नेपाली बजारमा प्रति मन ३५ हजार रुपैंयाँले अलैँची बिक्री भई रहेको छ ।