
इलाम, २४ पुसः गाउँपालिकाको सेवाकेन्द्र परिवर्तन गर्ने निर्णयसँगै जिल्लाको दुईवटा गाउँपालिकामा विवाद चुलिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँसभाको बहुमतले सेवाकेन्द्र सार्ने निर्णयसँगै माङसेबुङ र फाकफोकथुम पालिकामा विवाद बढेको हो । तत्काल कायम रहेको गाउँसभाका सदस्यमध्ये मतदानबाट केन्द्र सार्न भएको निर्णयविरुद्ध स्थानीयले आन्दोलन सुरु गरेका छन् । माङसेबुङ गाउँपालिकाको केन्द्र माङसेबुङ ३ स्थित चतुरेमा सार्ने निर्णयसँगै माङसेबुङका बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आफूहरूले प्रयोग गर्ने खानेपानीको मुहानलाई प्रत्यक्ष प्रभाव पार्ने गरी केन्द्र निर्धारण गरेको भन्दै निर्णय भन्दै त्यसलाई सच्याउन माग गर्दै माङसेबुङ विकास समिति र माङसेबुङ सम्पदा संरक्षण नागरिक समाजले आइतबार पत्रकार सम्मेलन गरी त्यसको जानकारी गराएका छन् ।
सम्मेलनमा स्वच्छ पानी पिउन पाउने नागरिकको हक कुण्ठित भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरिएको छ । गाउँपालिकाले केन्द्र निर्धारण गरेको चतुरे धार्मिक क्षेत्र माङसेबुङबाट करिब ३ किलोमिटर माथि पर्दछ । करिब ११ हजार जनसंख्या रहेको माङसेबुङबासीले चतुरेको फेदीमा रहेको मुहानको पानी उपभोग गरिरहेका छन् । सरकारी तथा गैरसरकारी निकाय र विदेशी दातृ संस्थाबाट निर्मित विभिन्न ९ वटा खानेपानीको मुहान चतुरेको फेदीमा पर्दछ । चतुरे डाँडामा केन्द्र राखिएमा शहरीकरण हुने क्रममा खानेपानी प्रदूषित हुने धार्मिक क्षेत्र लारुम्बाबासीको ठहर छ । यही कुरालाई मध्यनजर पटक–पटक ध्यानाकर्षण गराउँदा पनि चतुरे केन्द्र तोकिएकोले आन्दोलन गर्न बाध्य पारिएको माङसेबुङ विकास संस्थाका अध्यक्ष टीकाराम केरुङले बताए । अध्यक्ष केरुङले भने, ‘यो पहिलो चरणको आन्दोलन हो । गाउँपालिकाले वेवास्ता गरे थप छलफल गरी संघर्षका कार्यक्रम तय गर्नेछौँ ।’
यता फाकफोकथुम गाउँपालिकाको केन्द्र परिर्वतन गरिएको भन्दै गाउँपालिका प्रमुख एवम उपप्रमुखको पुत्ला दहन गरिएको छ । फाकफोकथुम गाउँपालिकाको २, ६ र ७ नम्वर वडाका बासिन्दाहरुले सबैलाई पायक पर्ने फाकफोकको साप्तिनलाई गाउँपालिकाको केन्द्र नबनाइ आमचोक कायम गरिएको भन्दैै गाउँपालिकाको अध्यक्ष रामकुमार श्रेष्ठ र सरु राईको पुत्ला दहन गरेका हुन् । केन्द्र कहाँ राख्ने भन्ने विषयमा व्यपाक छलफल नगरी जनप्रतिनिधिहरुले आफु खुशी निर्णय गरेकाले पुत्ला दहन लगायतका आन्दोलन गर्नु परेको केन्द्र निर्धारण संर्घष समितिका संयोजक बम निरौलाले बताए । गत पौष १३ गते सम्पन्न भएको गाउँसभाबाट आमचोक केन्द्र पारित गरिएको थियो । गाउँसभामा उपस्थित अध्यक्ष उपाध्यक्ष सहित ३९ जना मध्ये २१ जनाले आमचोक केन्द्रको पक्षमा हस्ताक्षर गरेपछि बाँकी रहेका १८ जनाले हस्ताक्षर नगरि बाहिरिएका थिए । गाउँसभाबाट गरिएको एकपक्षिय निर्णय तत्काल नसच्याए आन्दोलनका कार्यक्रमहरु अझै तिब्र बनाएर अघि बढाइने संयोजक निरौलाले बताएका छन् ।