
इलाम, इलाम पिकनिक जोनमा शनिबार विविध साँस्कृतिक कार्यक्रमका साथ लोकदोहोरी सम्पन्न भएको छ । एकिकृत ओढारे भालुढुङ्गा क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति इलामको आयोजनामा सम्पन्न लोक दोहोरी गीत प्रदर्शनी सम्भवत बर्षौ पछि इलाममा औपचारिक रुपमा आयोजना गरिएको हो । पुरुष कलाकारका तर्फबाट गायन टोलीको नेतृत्व सुबास सिञ्च्युरीले गरेका थिए भने अर्जुन कडेल, अर्जुन गुरुङ, सोवित पराजुली र दिनेश काफ्लेले उनीहरुलाई साथ दिएका थिए ।
महिला टोलीको नेतृत्व सपनी राईले गरेकी थिइन् भने उनलाई कलाकार रेनुका फागो, बन्दना राई र कौशिला राईले साथ दिएका थिए । कार्यक्रममा किबोर्डमा समितिका सदस्य हेमराज ढकाल, बासुरीमा राम माईकल राई, मादलमा कृष्ण गुरुङ्ग र गिटारमा अजित गुरुङले साथ दिएका थिए । कार्यक्रममा स्थानीय तथा आन्तरिक पर्यटकको घुइँचो लागेको थियो । गत हप्ता पनि सोहि क्षेत्रमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । भालुढुङ्गा क्षेत्रमा सो संस्थाले इलामको पर्यटन प्रवद्र्धन गर्ने हेतुले विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । आगामी दिनमा समेत इलामको पर्यटन प्रबद्र्धनका लागि विविध कार्यक्रमको आयोजना गरिने संस्थाका उपाध्यक्ष रजिन खड्काले बताए ।
उनले भने, ‘‘अहिले गीत सङ्गीतमार्फत पर्यटन प्रवद्र्धन गर्ने प्रयास गरिएको छ, अर्को समयमा अरु नै कुनै कार्यक्रम लिएर हामी इलाम जिल्लाको समग्र पर्यटनलाई जुरुक्कै बोक्ने लक्ष राखेका छौं ।’