
इलाम पुस: इन्टरनेट सेवा प्रभावकारी नहुँदा इलाम देउमाइ नगरपालिकाका सेवाग्राही मर्कामा परेका छन् । यहाँ सञ्चालित सबै कम्पनीको इन्टरनेट द्रुत गतिमा सञ्चालन हुन नसक्दा सेवाग्रही मर्कामा परेका हुन् । यहाँ नेपाल टेलिकमको एडिएसएल, निजी कम्पनीको सुबिसु र ब्रोडलिंक गरि तीनवटा इन्टरनेट सेवा सञ्चालन भए पनि कुनै पनि भरपर्दो नभएको सेवाग्राहीले गुनासो गरेका छन् । नेपाल टेलिकमले चौथो पुस्ताको फोर जी इन्टरनेट सेवा प्रदान गर्ने घोषणा गरेको एक वर्ष नाघे पनि यो कार्यान्वयन हुन सकेको छैन । हाल देशका ठुला २ वटा शहरमा मात्र यो सेवा लागु भएको छ । जिल्ला–जिल्ला र ग्रामिण क्षेत्रमा समेत यो सेवा लागुुु हुन नसक्दा सेवाग्रहीले दु्रत गतिको इन्टरनेट प्रयोग गर्न पाएका छैनन् । वितरित इन्टरनेट सेवा तोकिए बमोजिम समेत नचल्ने गरेको उनीहरुले बताउने गरेका छन् ।
दलका घोषणा पत्रमा नै गाउँ–गाउँमा इन्टरनेट सेवा पु¥याउने उल्लेख भए पनि मुख्य बजार तथा शहरी क्षेत्रमा नै यो लागु हुन सकेको छैन । बिचमा केही गडबढी भएर इन्टरनेट नचले मासिक तोकिएको रकम असुल गरेरै छाड्ने समस्याले पनि आफुहरु मर्कामा परेको देउमाई नगरपालिका मंगलबारेका सेवाग्राही तेजु खतिवडाले बताए । उनले भने– ‘यहाँ महिनामा चार, पाँच दिन इन्टरनेट नै चल्दैन नचलेका दिनको पैसा मात्र कम्पनीले लिएन भने पनि केही सम्म राहत हुने थियो ।’
सो क्षेत्रमा इन्टरनेट मात्र हैन विद्युतले समेत धोका दिने गरेको सेवाग्राहीहरुको भनाई छ । इन्टरनेट र विद्युत सेवाबाट नै पिडित बन्ने गरेको सेवाग्राही धिरेन श्रेष्ठले बताए । उनी भन्छन्– ‘जुन दिन चैँ धेर काम हुन्छ त्यही दिन चैं इन्टरनेट चल्दैन’ उनी थप्छन् ‘सेवाग्राही नेट नचलेरै पैसा तिर्न मान्दैनन् ।’ सेवा सुस्त हुँदा आफ्ना सेवाग्राहीलाई समेत लामो समयसम्म कुराउन बाध्य बन्नु परेको उनीहरुको भनाई छ । यहाँ रहेका कम्प्युटर इन्टिच्यट, साइबर र बैंकहरुमा इन्टरनेट समस्याका कारण प्रभावित बनेका हुन् ।
इन्टरनेट समस्या भएकै कारण कम्पनी परिवर्तन गरेर यहाँका प्राविधिकहरुले सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेका छन् । समस्या सामधान हुने आशामा कम्पनी परिवर्तन गर्नु परेको प्राविधिक तथा वितरकहरु बताउँछन् । प्रयोगकर्ताले समस्या भएको गुनासो गरेपछि परिवर्तन गर्नु परेको यस क्षेत्रका इन्टरनेट वितरक तथा प्राविधिक मंगेश ताम्राकारले बताए । मंगलबारेमा सुविसु कम्पनीको इन्टरनेटमा समस्या आएपछि उनले हाल ब्रोडलिंक कम्पनीको सेवा प्रवाह गर्न थालेका छन् ।
यस क्षेत्रमा दु्रत गतिमा इन्टरनेट वितरण गरिनुपर्ने उनीहरुको माग छ । र इन्टरनेट नचलेका दिनको रकम नअसुल्न समेत उनीहरुले सम्बन्धित पक्षसँग माग गरेका छन् । इन्टरनेट समस्या जिल्लाको पनि उस्तै छ । सदरमुकाममा पनि भरपर्दो रुपमा इन्टरनेट नचलेको सेवाग्राहीको गुनासो छ । निजी कम्पनी एनसिएलले चौथो पुस्ताको फोर जी सेवा प्रदान गरेपनि नेपाल टेलिकमले अझै उक्त सेवा ग्राहकलाई दिएको छैन ।