
इलाम, १२ माघः सानिमा हाइड्रो पावर लिमिटेड सानिमा माई हाइड्रो पावर कम्पनीमा गाभिने भएको छ । पुँजी बृद्धि गरी नयाँ आयोजनामा लगानी गर्ने उद्देश्यले संस्थापक कम्पनीलाई सानिमा माईमा गाभ्न लागिएको हो । सानिमा हाइड्रो सानिमा माईको संस्थापक कम्पनी हो । इलाममा २२ मेगावाटको माई र ७ मेगावाटको माई क्यासकेडको सफल निर्माणपछि सेयरधनीबाट नयाँ आयोजनामा लगानी बढाउने सुझाव आएकाले दुई कम्पनीलाई एक बनाउने प्रक्रिया अघि बढेको सानिमा माईका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले बताए । श्रेष्ठका अनुसार दुई कम्पनी गाभेर ‘सानिमा हाइड्रो’ नामाकरण गरिने छ ।
‘माई र माई क्यासकेड निर्माण भएपछि नयाँ आयोजनाको अनुमतिपत्र हामीसँग छैन,’ उनले भने, ‘कम्पनी नाफामा गइसकेकाले पुँजी बृद्धि गरी नयाँ आयोजना निर्माण गरेर सेयरधनीको लगानी सुरक्षित गर्न दुई कम्पनी गाभ्ने निर्णयमा पुगेको हौं ।’
दुई कम्पनी गाभिँदा अहिले २ अर्ब ११ करोड चुक्ता पुँजी रहेको सानिमा माईको आर्थिक हैसियत स्वतः बढ्ने उनको दाबी छ । सानिमा हाइड्रो गाभिँदा ६२ मेगावाटको जुमखोला ७.५ मेगावाटको माथिल्लो मैलुङ ‘बि’ आयोजना र सिन्धुपाल्चोकमा सञ्चालित २.६ मेगावाटको सुनकोसी सानो सानिमा माईको स्वामित्वमा आउने छ । यस्तै, ताप्लेजुङको तमोर नदीमा निर्माण हुने २ सय ८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजनामा पनि कम्पनीको ८० प्रतिशत सेयर स्वामित्व रहेकाले व्यवसायिक क्षमता विस्तार हुनेछ । दुई कम्पनी गाभेर एउटै बनाउने सञ्चालक समितिको प्रस्ताव सानिमा माईको हालै सम्पन्न छैठो वार्षिक साधारणसभाबाट पारित भएको छ । २ जलविद्युतगृहको सफल निर्माण गरेको कम्पनीले ७३ मेगावाटको मध्य तमोरमा ४८ करोड र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा ४५ करोड लगानी गर्न सत प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी संकलन गरिसकेको छ । रसुवामा निर्माण हुने १४.३ मेगावाटको माथिल्लो मैलुङमा पनि आफ्नै पुँजीबाट १५ करोड रुपैयाँ लगानी गर्दैछ ।