
फिक्कल, १२ माघः सुर्योदय नगरपालिकाले आफनो सिमा क्षेत्रभन्दा बाहिर गएर सवारी कर असुल्न थालेको छ । नगरपालिकाले मेची राजमार्गमा यात्रु चढाउन रोकेर राखिएका सवारीहरुको समेत पार्किङ कर असुल्न थालेको हो । नगरपालिकाले सवारी पार्किङका शुल्क भन्दै नगरसभाबाट आर्थिक ऐन २०७४ पारित गरेर ठेक्का प्रक्रियामा लगाएको छ ।
सार्वजनिक सडकमा पार्किङ गर्न पाइदैन तर सुर्योदयमा व्यवस्थित पार्किङस्थल नहुँदा बाटोमा सवारी राख्ने गरिएको छ । ‘यात्रु उतार्न चढाउन गाडी रोक्ने वितिकै पार्किङ रसिद बोकेर आउँछन यस्तो त अरू कहि पनि छैन ‘मेची राजमार्गमा गाडी कुदाउने चालकहरु गुनासो गर्छन् । नगरपालिकाले फिक्कल चोकदेखी दक्षिण शान्तिचोकसम्म उत्तर विद्युत प्राधिकरणको गेट, फिक्कल चोकदेखी पशुपतीनगर जाने बाटोको फिक्कल खोल्सासम्म, पशुपतीनगर बजार क्षेत्रको निर्माणाधिन बसपार्क देखी फाटकसम्म र तिनघरे बजार क्षेत्रको दुग्द्य चिस्यान केन्द्र देखी पुण्य स्मारिका रहेको सामुदायिक भवनसम्मको क्षेत्रमा रोकिने सवारीहरुलाई पार्किङ कर लगाएको छ ।
नगरपालिकाले डोजर, लोडर र स्काभेटर पार्किङ गरेबापत प्रति घण्टा रु ४०, निजी तथा भाडाका ट्रक, ट्रयाक्टर बापत रु ३०, निजी बस, पिकअप, मिनीबस, टयाक्सी भेनलाई रु २५, निजी भाडाका कार तथा टयाम्पोलाई रु १५ र मोटसाइकललाई रु १० कर लगाइएको छ ।
गत कार्तिक २६ गते कार्यपालिकाको बैठकबाट १ लाख ३८ हजार ८४४ रुपैयामा २०७५ असार मसान्तसम्मको लागी ठेक्का लगाएको हो । सार्वजनिक सडक ऐन २०३१ को संसोधन २०६६ मा समेत सडक अवरोध गरेर कुनै पनि गतिविधी गर्न नपाइने उल्लेख गरिएको छ । तर सुर्योदय नगरपालिकाले भने सडक ऐन कार्यान्वयन गराउन छाडेर उल्टै सडकमै रोकिएका सवारीबाट पार्किङ कर असुली रहेको छ ।
।

पार्किङको बिषयमा नगरपालिकका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईसंग बुझदा अनावश्यक सवारीको चाप घटाउनका लागी पार्किङ शुल्कको अवधारणा ल्याएको बताए । उनले कर नलिँदा सवारी पार्किङको चाप बढी भइ दुर्घटना निम्तिने खतरा रहेकाले सवारीलाई घण्टा बापतको पार्किङ शुल्क लिएको दाबी गरे । नगरपालिकामा दर्ता भएका सार्वजनिक सवारीको हकमा भने दिनको एक पल्ट मात्र पार्किङ शुल्क लिइने गरेको उनले बताए । सरकारी सवारी साधन, एम्बुलेन्स, कुटनितिक नियोगका सवारी र दमकल बाहेकका सवै सवारी साधनलाई पार्किङ बापत शुल्क लिइने गरेको छ ।
नगरपालिकाका प्रवक्ता पेगा उगेन लामाले सडकमा अनावश्यक भिड नियन्त्रणका लागी यस्तो कार्य थालिएको बताए । उनले भने ‘ जथाभावी सडकमा सवारी रोक्न गर्नाले नगरपालिकाको शोभा नै हराउने संभावना देखिएकाले नगरसभाबाट पारित गरेर सवारी पार्किङ करको अवधारणा अगाडी ल्याइएको हो ।’
डिभिजन सडक कार्यालय इलामका प्रमुख खडग प्रसाद श्रेष्ठले सडकमा सवारी पार्किङ गर्न नपाइने तर नगरपालिकाले सडकमा रोकिएको सवारीबाट पार्किङ शुल्क लिन पाउने नपाउने बारेमा सडक ऐनमा कुनै प्रावधान नरहेको बताए । उनले भने ‘ सडक ऐनले राजमार्ग र मुख्य सडकमा अवरोध गर्न नपाउने उल्लेख गरेको छ तर सडकमा राखिएको सवारीबाट पार्किङ शुल्क लिन पाउने वा नपाउने बारेमा केही उल्लेख गरेको छैन । सुर्योदयले कुन ऐन टेकेर पार्किङ शुल्क लिँदै सो बारेमा जानकारी छैन ।’
टेन्डरको सर्त नै कार्यान्वयनमा छैन
ठेकेदारले नगरपालिकासंग गरेको ठेक्का सम्झौता कार्यान्वयन गरेको छैन । ठेक्का सम्झौतामा मोटरसाइकल प्रयोग गर्ने व्यक्तिले बजारमा छोटो समयको ३० मिनेटभन्दा कम समय रोकी आफनो काम सम्पन्न गरी गन्तव्य तर्फ जानेसंग शुल्क संकलन गर्न नपाइने उल्लेख गरेपनि मोटरसाइकल रोक्नै नपाइ १० रुपैयाको रसिद थमाइने गरेको छ । स्थानिय दिनेश महतले ३० मिनेटभन्दा बढी समय रोकेको मोटरसाइकलबाट पार्किङ शुल्क् लिने गरिएको सुन्नमा आए पनि मोटरसाइकलबाट खुट्टा झार्न नपाउदै शुल्क तिर्नु परेको गुनासो गरे ।
ठेकेदारका प्रतिनिधी विहाङ राईले मोटरसाइकल रोक्ने वितिकै पार्किङ शुल्क लिने गरेको बताए । उनले भने ‘मोटसाइकल रोक्ने वितिकै शुल्क लाग्छ त्यो त तपाइहरुको हेल्मेट सुरक्षाको लागी हो नि ।’ यता नगरपालिका प्रवक्ता लामाले सम्झौता बमोजिमको सर्त पालना नगरेको हो भने ठेकेदारसंग यस बिषयमा छलफल गरेर सम्झौता पालना गराइने बताए । लोकल सन्देशबाट