- टीका खतिवडा
माघः तस्बिरमा देखिएका ब्यक्ति हुन् दोर्जे तामाङ । ४० वर्ष यता उनको जीवन छेवैमा बगेको माइखोलाकै किनारामा बालुवा खेलाउँदै बित्ने गरेको छ । माइखोलाको पानी जसरी बगेर गइरहेको छ उसैगरी उनको उमेरसँगै जीवन पनि ढलिरहेको छ । विक्रम संवत २०३४ सालमा धनकुटा बसन्तपुरबाट इलाम आएका पछिलो २० वर्ष यता धनकुटा गएकै छैनन् । सम्पति र परिवार साथमा भइदिएको भए आराम गरेरै बिताउने समयमा पनि दोर्जे बिहान उज्यालो भएदेखि साँझ आँखा देखुन्जेल सम्म काममै तल्लिन हुनै पर्ने बाध्यता छ ।
उनी मेची राजमार्ग छेवैमा माइखोलाको किनारामा खोलाले बगाएर ल्याएको बालुवा भेला पार्छन् । भेला पारेको बालुवा प्रति ट्याक्टर १२ सयमा बेच्ने उनी करिब एक महिनामा दुःखले एक ट्याक्टर बालुवा भेला पार्छन् । त्यहि १२ सय मासिकमा दिनभरीको श्रम बेच्ने उनलाई हिउँदको समयमा बार र महिना पनि थाहा हुँदैन । बर्खामा भेल र बाढीले उनको यही पेशा पनि धरापमा पर्छ । बर्खामा खाएको पनि हिउँदकै कमाइले धान्नु पर्ने उनको भनाई छ । बिहे त गरे उनले तर जायजन्म नभई श्रीमतीको मृत्यु भए पछि कान्छी भित्रियाउने आँट गरेनन् दोर्जेले । मरे पछाडि गरिने मृत्यु संस्कारको त कुरै छाडौँ जिवितै रहँदा सामान्य बिरामी हुँदा समेत तातो पानी तताएर दिने सहारा सम्म छैन उनको । पाको शरीर, चाउरी पर्दै गएको छाला, तागत सकिँदै गएर होला काम गर्दै गर्दा पनि हात गोडा थर्थर कामिरहेका हुन्छन् । सरकारले ७० वर्ष उमेर पार गरेका मानिसलाई बृद्धभत्ता उपलब्ध गराउने गरेको छ । तर उनले बृद्धभत्ता पाएकै छैनन् । कारण हो उनले नेपालको नागरिकता पाएकै छैनन् । पुख्र्यौली घर धनकुटा भएका उनी जिल्ला प्रशासन कार्यालय इलाममा नागरिकता बनाउन जाँदा धनकुटा नै गरेर बनाउनु भन्ने जवाफ आए पछि नागरिकता नै नबनाएको बताउँछन् । धनकुटामा रहेका पुर्खाहरु पनि कहाँ छन् आफुलाई जानकारी नभएको बताउने उनी आफन्त नभएरै नागरिकता बनाउन नसकेको दुखेसो गर्छन् ।
खोलाकै छेउमा परालले बारेको अनि कर्कटपाता बाँधेर छानो अड्याएको छाप्रो हालेर बसेका उनी यसै कटेरामा रात बिताउँछन् । यो माघको जाडोमा पनि ढोका नै नभएको छाप्रोमा जिविकोपार्जन गरिरहेका उनी पकाएर खाने सन्तुलित भोजनको त कुरै छाडौँ आज पेट भरी खाए भरेको छाक कसरी खाने भन्ने चिन्ता हुन्छ । छाप्रोकै छेउमा पकाएर खाने गोठ (किचन) छ उनको । त्यो पनि सामान्य हावाहुरी आए उडाएरै लैजान्छ । भत्किएको किचन पनि काठ र बाँसको टेको दिएर अडिएको छ ।
निजामती कर्मचारी वा शिक्षकको जागिर भइदिएको भए उमेरको हदबन्दी लाग्ने उमेर पार गरिसके दोर्जेले । तर सरकारले उपलब्ध गराउने बृद्धभत्ता नै पाएका छैनन् उनले । जनप्रतिनिधि चुनिए, गाउँगाउँमा सिंहदरबार पुगेको बताउने सरकारले यस्ता ब्यक्तिको उद्धार त के खोजीसम्म गरेको छैन् । आफैँ लाउँ, आफैँ खाउँ अनि आफैँ कमाउँ भन्ने सोच राख्ने समाजमा मानविय सम्वेदना हराउँदै गएको हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।