चुलाचुलीमा जंगली हात्ती आतंक, ४० बढी परिवारलाई दुःख दिंदै

चुलाचुली, ४ माघः जंगली हात्तीको समूहले जिल्लाको चुलाचुली गाउँपालिकामा १० वटा घरमा क्षति पु¥याएको छ । झापाको बेलडाँगी नजिकैको बनबाट आएका ७ वटा जंगली हात्तीको बथानले घर भत्काउनुका साथै ३ बिघामा लगाएको बाली पूर्णक्षति गरेको चुलाचुली गाँउपालिकाका प्रशासकिय अधिकृत छविलाल खतिवडाले बताए ।
चुलाचुलीका ४ र ५ नम्बर वडा ५ परिवार विस्थापित भएका छन् भने ४० भन्दा बढी परिवार हात्ती आक्रमणको जोखिममा छन । हात्तीले चुलाचुली–५ का ललितकेन्द्र राई, मनु राई, सञ्जय बस्नेत, होमनाथ अधिकारी, नेत्रप्रसाद बाँस्कोटा, वडा ४ का पदमकुमार एवा, मानबहादुर लिम्बू, सुमन लिम्बू, चन्द्रकुमार लिम्बू र नरबहादुर भुजेलको घर भत्काएको खतिवडाले बताए ।
‘ललितकेन्द्र, मनु, सञ्जय, मानबहादुर र सुमनको घर पूर्ण रूपमा ध्वस्त भएको पाइयो,’ घटनास्थल निरीक्षण गरेर फर्केका खतिवडाले भने, ‘पूर्ण रूपमा घर क्षति भएका परिवार छिमेकीकहाँ शरण लिएर बसेका छन् । चन्द्रकुमारको घरको किचन भत्काएको र टेकबहादुर दाहालको घरमा पनि क्षति गरेको रहेछ ।’ हात्तीले गाउँका ४० भन्दा बढी परिवार जोखिममा रहेपनि केही परिवारलाई घरमा नबस्न आग्रह गरेको उनले बताए ।
‘पुस २६ गतेभन्दा पछि दिनहुँ हात्ती गाउँमा आएर क्षति गरिरहेकाले केही परिवारलाई घरमा नबस्न भनेका छौं,’ उनले भने, ‘यहाँको २० बिघाभन्दा बढी जमिनमा घर बनाएका बासिन्दाले हात्तीका कारण गाउँ छाड्नुपर्ने अवस्था देखिन्छ ।’ विस्थापितलाई स्थानीय क्लबले बिहीबार चामल र भाँडाकुँडासमेत राहतका रूपमा दिएका छन् ।
चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले पीडितकहाँ पुगेर उनीहरूलाई राहत वितरण गरे ।चुलाचुली क्षेत्रमा हात्तीको आक्रमणमा परेर बर्षेनी स्थानियले ज्यान गुमाउनुका साथै लाखौको धनमालमा क्षति पुग्ने गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता