- बिमल अधिकरी

जितपुर २७ पुसः इलामको देउमाई नगरपालिका ९ जीतपर स्थित त्रिभुवन आधारभूत विद्यालयमा एकलाख रुपैंयाँको अक्षय कोष स्थापना गरीएको छ ।
स्वर्गीय घलेन्द्र बहादुर लिङदेनको स्मृतिमा उहाँकि श्रीमती बलमाया जवेगुले एकलाख रुपैंयाँको घलेन्द्रबहादुर लिङदेन अक्षय कोषको स्थापना गर्नुभएको हो । उक्त कोषबाट प्राप्त ब्याजले हरेक बर्ष सोहि विद्यालयमा उत्कृष्ट हुने दुईजना विद्यार्थीलाई पुरस्कृत गरीनेछ ।
यसैक्रममा बलमाया जवेगुको परिवारले विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर पनि प्रकाशन गर्न आर्थिक सहयोग गर्नुहुने भएको छ । अक्षय कोष स्थापना कार्यक्रमकै अवसर पारेर जीतपुरकै पारीगाउँमा स्वर्गीय घलेन्द्र बहादुर लिङदेनको शालिक समेत अनावरा गरीएको छ ।
किराँत धर्मगुरु फाल्गुनन्दले पानी उमोरेर खडेरीको समयमा सर्बसाधरणलाई उपलब्ध गराएको स्थान नजिकै घलेन्द्रबहादुरको सालिक राखिएको छ । सामाजिक, शैक्षिक क्षेत्रमा योगदान पुरयाएका तथा पूर्व भारतीय सैनिक समेत रहेका घलेन्द्रबहादुरको बारेमा शालिक अनावरणमा उपस्थित ब्यक्तिहरुले उहाँको योगदानको चर्चा गरेका थिए । सोहि कार्यक्रममा स्थानीय जेष्ठ नागरीक डम्बरु बल्लभ न्यौपाने सहित जग्गादाता डाकमान लिङदेन, लिलाराम गिरी र मनकादेवी गिरीलाई दोसल्ला ओढाएर जवेगु परिवारले सम्मान गरेको सोहि वडाका वडा सचिब युवराज घोर्षाईले जानकारी दिनुभयो ।
कार्यक्रममा शिद्धिलाल लिङदेनको अध्यक्षता तथा किराँत धर्म साहित्य संघका केन्द्रिय अध्यक्ष डकेन्द्रसिंह थेगिमको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा देउमाई नगरपालिकाका मेयर सूर्य पोख्रेल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गोविन्द गिरी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन
(मिराक), नेपाल रेडक्रस सोसाइटि इलामका सभापति देवी गौतम, वडाध्यक्ष प्रेमसागर बराल, वडा सदस्य हेमराज लिम्बू, जीतपुर माविका प्रधानाध्यापक खडानन्द अधिकारी, जीवन दुलालले बोल्नु भएको स्थानीय बेलबहादुर पत्रे लिम्बूले बताउनुभयो । कार्यक्रमको औचित्यमाथि नविन लिङदेनले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकाँश बक्ताले देउमाई नगरपालिकाको जीतपुर क्षेत्रलाई पर्यटकिय गन्तब्य बनाउनु पर्नेमा जोड दिएका थिए ।