
इलाम, २७ पुसः पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले माघ ५ गतेदेखि इलामका स्थानिय बासिन्दालाई साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ दरको ११ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । पञ्चकन्या माई हाइड्रोले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत रकमको आइपीओ बिक्री गर्न लागेको हो । स्थानीयलाई सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि दोस्रो चरणमा कम्पनीले फेरी १० प्रतिशत बराबरको सेयर साधारणमा जारी गर्नेछ ।
अहिले जारी गर्न लागेको ११ लाख कित्ता सेयरमध्ये इलाम जिल्लाको सन्दकपुर गाउँपालिकाा स्थानियबासीलाई ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता र इलाम नगरपालिकाका स्थानियबासीलाई ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता सेयर रहेको छ । स्थानियले सनराइज बैंक र प्रभु बैंकका इलाम शाखा, सन्दकपुर गाउँपालिकाको कार्यालय तथा पञ्चकन्या माईको साइट कार्यालयबाट समेत आवेदन गर्न सक्नेछन् । सेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम ५ हजार ५०० कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । साधारण सेयरमा आवेदन गर्ने अन्तिम दिन माघ १९ गते रहेको छ ।
साधारण सेयर जारी गर्नका लागि कम्पनीले सनराइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई संयुक्त रुपमा बिक्री प्रबन्धकको जिम्मेवारी तोकेको छ । पञ्चकन्या माई हाइड्राको अधिकृत पूँजी एक अर्ब ९५ करोड रुपैयाँ तथा जारी पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई हाइड्रोपावर आयोजना सञ्चालनमा छ । त्यस्तै कम्पनिको बनाउँदै गरेको ६ दशमलव १ मेगावाटको कास्केड आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।