- बिनय तिम्सीना

इलामः इलाम जिल्लाको पूर्वी भेगमा न्यून संख्यामा बसोबास गर्ने लाप्चाहरू बौद्ध धर्मावलम्बी हुन् । इलाम जिल्लामा इलाम नगरपालिकाको गोदकमा, सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा लाप्चाहरुको बसोबास रहेकोछ । इलाम सदरमुकाम नजिकै रहेको गोदकको असलेखोलाको किनारमा लाप्चाहरु परापूर्वकालमा बसेको गुफा, ओखल ढुङ्गा, जाँतो भएको ठाउँ संरक्षणको अभावमा अलपत्र परेको छ । गोदकमै रहेको चमेरे गुफा, लाप्चाहरु नुवाउने गरेको इलामकै दोस्रो अग्लो असले झना लगायतको ठाउँहरुको संरक्षण र प्रचार प्रसार गरे लाप्चाहरु संरक्षण र विश्व सामु चिनाउनमा थप मद्दत हुने देखिन्छ । पहिले यो गुफा अलि राम्रो भएको र पछि बाढी पहिरो पसेर यस्तो भएको स्थानीय कमल लाप्चा बताउँछन् ।
इलाम जिल्लाको श्रीअन्तु, समालवुङ, फिक्कल, र रोङ गाउँपालिकामा भएका लप्चाहरुको पनि परापूर्वकालमा बसोबास गरेका भिन्न ठाउँहरु अलपत्र परेका छन् ।
लाप्चा जातिको आफ्नै पहिरन छ । लाप्चा पुरुषले लगाउने पहिरनलाई ‘दमवोन’ तथा महिलाले लगाउने पहिरनलाई ‘दमदेन’ भनिन्छ ।

लाप्चा पुरुषले प्रायः कालो रंगको घुमाउरो टोपी लगाउँछन् जसलाई ‘टप्री’ भनिन्छ । भित्रबाट सेतो रंगको कमिज र घुँडासम्मको सुरुवाल लगाइन्छ जसलाई ‘तगो’ भनिन्छ । कमिज बाहिर छिर्के कपडा ‘तम्प्रा’ भिरिन्छ । कम्मरमा पेटीजस्तो ‘नम्रिक’ले कसिन्छ । कम्मरको एकापट्टि काठको कभरभित्र हतियार हुन्छ, जसलाई ‘वामफोक’ भनिन्छ । खुट्टामा ‘लोम’ अर्थात जुत्ता लगाइन्छ ।
लाप्चा महिलाहरूले बक्खुजस्तै देखिने ‘दम्मोन’ लगाउँछन् । दम्मोनसँग चोलीका रूपमा ‘तगो’ लगाइन्छ। महिलाहरू बर्कोका रूपमा ‘स्याटक’ लगाउँछन । कान तथा घाँटीमा वेतबाट बनेको माला र टपका रूपमा ‘ल्याक’ हुन्छ । महिलाहरूले टाउकोमा सानो कपडाको फेरो पनि लगाउँछन् । लाप्चाहरु घरलाई ‘ली’ भनिन्छ । भातलाई ‘ज्यू’ भन्ने गरिन्छ र उनिहरुलाई अफ्नो भाषा ‘रोङ’ भन्ने गर्दछन् । जसको नामबाट इलामको एउटा गाउँपालिकाको नाम रोङ राखिएको छ जहाँ लाप्चाहरुको बसोवास रहेको छ ।
लाप्चाहरु नेपालका लोपउन्मुख जाति भए पनि सरकारको तर्फबाट आफुहरुले सरकारले लोप्उन्मुख भत्ताको रुपमा मासिक दुई हजार बाहेक कुनै सेवासुविदा नपाएको र विकासको काम आफु बसोवास गरेको क्षेत्रमामा नभएको जस्तो गुनासो स्थानीय मिना कुमारी लाप्चा गर्नुहुन्छ ।
लाप्चा वस्तीको विकासको लागि स्थानीयहरुले मात्र गरेको स्थानीय याम लाप्चा बताउनुहुन्छ
विश्वबाटै लोपहुन लागेका लाप्चा जातिहरुको संरक्षण गर्न जरुरी देखिन्छ । परापूर्वकालमा उनिहरु बसोबास गरेको स्थलहरुको संरक्षण र प्रर्वद्धन गर्न सके आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन भई लाप्चा वस्तीमा आर्थिक आयआर्जनको बाटो पनि खुल्ने थियो ।

जनगणना–२०६८ को तथ्यांकअनुसार लाप्चाको कुल जनसंख्या ३ हजार ४ सय ४५ छ । उनीहरूमध्ये ३ हजार २ सय ६४ जना ग्रामीण अनि १ सय ८१ जना सहरी क्षेत्रमा बस्छन् । पूर्वाञ्चलमा सबैभन्दा धेरै ३ हजार २ सय ३६ जना, मध्यमाञ्चलमा १ सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिमाञ्चलमा ५ र सुदूरपश्चिमाञ्चलमा २ जनाको बसोबास छ । उनीहरू पहाडी क्षेत्रमा सबैभन्दा बढी (२ हजार ९ सय ९६) जना बसोबास गर्छन् । तराईमा ४ सय ३१ र हिमाली क्षेत्रमा १८ जनाको बसोबास रहेको जनगणना–२०६८ को तथ्यांकले देखाउँछ ।