![]() |
| तस्वीर फायलः आफ्नै भेषभुषामा सजिएका लाप्चा जातिहरु |
इलाम, ४ माघ शहिद दिवसको अवसरमा इलाम नगरपालिका वडा नम्वर १० गोदकमा रहेको गुम्बा डाँडामा आन्तररिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले मेला लाग्ने भएको छ । स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ १४, १५ र १६ गते स्थानिय मेला आयोजक कमिटि इनपा १० गोदकले मेलाको आयोजना गरेका हुन् ।
मेलाको सह–आयोजना नेपाल तामाङ घेदुङ गोदक र रोङ सेजुम ठि लाप्चा उत्थान मञ्चले गरेको बिहिबार इलाममा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।
मेलामा गोदक स्थीत जिल्लाकै दोस्रो असले झरनाको अध्ययन अवलोकन, नेपालको लोपउन्मुख लाप्चा समुदायको अध्ययन अवलोकन, लाप्चा जातीको पुरातात्विक बस्तु, ओखल मुस्लीको अवलोकन, चमेरे गुफा अवलोकन गर्ने कार्यक्रम रहेको आयोजक कमिटिका अध्यक्ष पेमा लामाले जानकारी दिए ।
पर्यटन मेलामा बिभिन्न जातजातिका स्थानीय खानाका परिकारहरु र जातजातिको झाँकी लगायतका कार्यक्रम तय गरिएको आयोजक समितिका बासुदेव अधिकारीले जानकारी दिए ।
मेलामा पर्यटकले परम्परागत लिङ्गे पिङको मज्जा समेत लिन सकिने वताइएको छ । पत्रकार सम्मेलन गर्दै अयोजकले मेला सफल बनाउन सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ । मेला आयोजना स्थल लाच्चा जातिको ऐतिासिक क्षेत्र मानिन्छ । उक्त ठाउँमा लाप्चा जातिका परम्परागत र ऐतीहासिक बस्तुहरु अझै रहेका छन । मेला गतवर्षबाट सञ्चालन गर्न थालिएको हो ।
स्थानीय दोर्जेजिङ्ग साङछयोलिङ गुम्बा स्थलमा बिभिन्न जातजाति एकै ठाउँमा रहेर दोमाङ पाठ समेत भैरहेको वताइएको छ ।
