‘श्रीमानको धोकाले व्यवसायी बनायो’ : मेनुका

इलाम, ७ माघः जिल्लाको इलाम नगरपालिका वडा नं. ६ गढीकी मेनुका गुरुङ्ग निरौला अहिले जिल्लाको चर्चित बेकरी व्यवसायी हुन् । तर उनले आफू यति सफल भइन्छ भनेर सोचेकै थिइनन् । १३ वर्षकोे कलिलो उमेरमा अन्र्तजातिय विवाह गरेकी मेनुका अहिले ५१ वर्षको भइन् । सुरेशकुमार निरौला र उनको विवाह भयो । भरोसाको आशा मानिएको आफ्नै श्रीमानले अर्कै विवाह गरेर कान्छी थपेपछि उल्टै सात लाख ऋण लगाएर घर छोडेर गएको उनले बताईन् । ‘विदेश जाऊँ पठाइदिने कोही थिएन घरै बसुँ बस्ने र खाने केही थिएन ।’ मेनुकाले भनिन्– ‘आफूसँग कुनै विकल्प नरहेपछि माइतीले दिएको ११ आना जग्गामा केही नजानी–नजानी भए पनि बेकरी उद्योग खोलेँ ।’ उनी भन्छिन् ‘श्रीमानको धोकाले ब्यवसायी बनायो ।’ 
त्यही जग्गामा मेनुकाले सानो कटेरो बनाएर एक तोलाको सुनको तिल्लरी धरौटी राखी ३८ हजार रुपैंयाँ ऋण लिएर लगानी गरी बेकरी उद्योग सुरु गरेको मेनुकाको भनाई छ । अहिले बेकरीको बजार राम्रो छ । मासिक कारोबार आठ लाख ६० हजार रुपैंयाँ सम्म कारोबार भएको उनले बताइन् । उनले भनिन्– ‘सुरुमा ‘कोकिस’ पनि भन्न जान्दिनथ्ये ।’ पाउरोटीको परिकार कोकिस भन्न समेत नजाज्न्ने मेनुका हाल पाउरोटी ब्यवसायी बनेकी छिन् । अभाव, आँट र विश्वास भए आफ्नै जन्मभूमिमा विदेशको कमाई भन्दा धेरै कमाउन सकिँदो रहेछ भन्ने दरिलो हिम्मत आफुमा पलाएको उनले बताइन् । उनी भन्छिन्– ‘म नपढेकी मान्छे, साना–साना नानी थिए साथमा र त उद्यमी बन्न आँट गरेँ । अहिलेका पढेका बुझेकाले किन विदेश जानु प¥यो र ?’ उनी प्रश्न गर्छिन् ।  आफ्नै आफन्त बुबा–आमाको आँखा सामुन्ने बसेर प्रगति गर्न सकिन्छ । टाढा गए त चाडवाड पनि भन्न पाइन्न भनेर परिवारले दिएको सल्लाह मान्दै आफुले उद्योग सञ्चालन गरेको उनले बताइन् । 
मेनुका बेकरीमा केक, ब्रेड, बिस्कुट, क्रिमरोल, पप, डुनट, पाउरोटीका विभिन्न २७ प्रकारका बेकरी मिठाई बन्छन् । बजारमा डुनट, ब्रेड र केकको सबै भन्दा बढी माग रहेको मेनुका बताँछिन् । महिनामा डुनट दुई लाख १६ हजार, ब्रेड एक लाख ८० हजार, केक एक लाख ६० हजार, पाउरोटी एक लाख ५० हजार, पप ८० हजार, बिस्कुट ५० हजार  र क्रिमरोल २४ हजार रुपैंयाँको कारोबार हने गरेको उनको भनाई छ । यहाँ उत्पादन भएको सामान इलाम बजार लगायत माइपोखरी, राँके, फिक्कल, रवि, बिव्ल्याँन्टे, नेपालटार लगायतका बजारमा बिक्री हुने गरेको छ ।
अहिले मेनुका उद्योगमा आठ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएको उनले बताइन् । विदेश गएर आएका दुई जनाले पनि बेकरीमा रोजगार पाएको उनी बताउँछिन् । सोही बेकरीमा काम सिकेर सक्षम भएपछि अहिले बेकरी उद्योग खोल्ने भनेर केही कामदार काठमाडौँ गएको मेनुकाले बताइन् । उद्योगकै आम्दानीले अहिले मेनुकाले थप उद्योग विस्तार गरेकी छिन । १९ लाख रुपैंयाँ लागतको उद्योगका सामान र गाडी समेत जोडेको उनको भनाई छ । छोरो सञ्जय निरौलालाई अमेरिकामा रजिष्टर नर्स पढाइरहेको र व्याचलरसम्म अध्ययन पूरा गरेकी छोरी सर्मिला निरौला भने उद्योगमा नै स्वरोजगार भई काम गरिरहेको उनले बताइन् । ठेस खाएपछि माथि चढ्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेकी उनी साँच्चै नै गतिलो उदाहारणको श्रोत बनेकी छिन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता