यस्ता छन् एमाले इलामका राष्ट्रिय सभाका उमेद्वारहरु

इलाम, ७ माघः नेकपा एमाले जिल्ला कमिटी इलामले स्थानीय तहमा भइरहेको कामको समीक्षा, समस्याहरु र पार्टी तथा जनप्रतिनिधिहरुको अन्तरसम्बन्ध बारेमा एक दिने कार्यशाला आयोजना गर्ने भएको छ । नेकपा एमाले इलामका कार्यवाहक अध्यक्ष भक्त केसीको अध्यक्षतामा भएको १२ औँ बैठकले उक्त निर्णय गरेको नेकपा एमालेका कार्यालय सचिव नवराज शंकरले बताएका छन् । माघ १४ गते हुने कार्यशालमा जिल्ला कमिटी पदाधिकारीहरु, जिल्ला समन्वय समितिको प्रमुख र उप–प्रमुख, एमालेको तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख, उपप्रमुखहरु, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षहरु, नगर–गाउँ संगठन कमिटीका संयोजकहरु सहभागिता रहनेछ ।
केन्द्रीय अनुशासन आयोग सदस्य अगमप्रसाद वान्तवाको प्रमुख आतिथ्यतामा भएको बैठकले आगामी माघ २५ गते राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्नको लागि तीन जनाको नाम समेत सिफारिस गरेको छ । बैठकले अगमप्रसाद वान्तवालाई खुला वा अल्पसंख्यकतर्फ, देवेन्द्रकुमार विश्वकर्मालाई दलिततर्फ र राममाया राईलाई महिलातर्फ उमेद्धवारका लागि सिफारिस गरेको हो । बैठकले अहिलेको सरकार र निर्वाचन आयोगको कार्यशैलीको घोर निन्दा र भत्र्सना गर्दै ३ बुँदे विशेष प्रस्तावहरु पारित गरेको छ । 
बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनताले दिएको जनमतको विपरित, सत्ता हस्तान्तरणमा विभिन्न बखेडा झिकेर अलोकतान्त्रिक चरित्र पस्तुत गर्ने सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै वामपन्थी गठबन्धनलाई सरकार गठनको मार्ग प्रशस्त गर्न जोडदार माग गरिएको छ । यस्तै निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम परिणाम समेत घोषणा नगरी बसेको परिप्रेक्षमा तत्काल अन्तिम परिणाम घोषणा गरी जनादेशलाई बहाल र सत्ता हस्तान्तरणको अन्तिम अवस्थामा पुगेको सरकारले दीर्घकालिन महत्वका निर्णयहरु गर्नन वर्तमान सरकारलाई आग्रह गरेको एमाले इलामका कार्यालय सचिव नवराज शंकरले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता