
माङसेबुङ (लारुम्बा), ३ माघः झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने दमक–रवि चिसापानी सडक (फाल्गुनन्द मार्ग) को सम्पूर्ण भाग खुलेको छ । दुई दशक अघिदेखि निर्माणाधीन ४१ किमी सडकको सबै भाग खुलेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
समितिका अध्यक्ष गगन पुरीका अनुसार एक सातापछि साना सवारी साधन गुडाउन दिइने निर्णय भएको छ । यस अगाडि रतुवा खोलाको किनारै किनार सवारी साधन सञ्चालन हुँदै आएका थिए । निर्माण उपभोक्ता समितिले यही माघ ७ गतेदेखि मार्गबाट सम्पूर्ण यातायात चलाउन सार्वजनिक रुपमा आग्रह समेत गरेको छ । सडक वर्षातका समयमा सधैँ अवरुद्ध हुने गथ्र्यो ।
हिउँदमा पनि त्यहाँको घर्तीदोभानसम्म रतुवा खोलाको किनारै किनार सवारी साधन गुड्दै आएका थिए । उनले अब वर्षात र हिउँदमा सवारी गुड्ने तहमा पुगेको बताए । अब लामो समयपछि त्यस सडकबाट नै अब सवारी साधन निर्बाध रुपमा चल्ने अध्यक्ष पुरीको भनाइ छ ।
सो सडक निर्माण पूरा नहुँदा वर्षातमा दमकबाट रविसम्म पुग्न इलाम सदरमुकाम, राँके हुँदै जाँदा १७८ किमीको दूरी पार गर्नुपर्ने मात्र होइन त्यहाँ पुग्न दुई दिन नै बित्ने गरेको उपभोक्ता समितिका महासचिव हेमन्त राई बताउँछन् ।