- मनिषा चम्लागाईं

बाह्रदर्शी, ३ माघः बाह्रदर्शी गाँउपालिका स्तरीय मुल कृषक समूहले कृषि क्षेत्रमा प्रविधिको विकास गर्न माग गरेका छन् । कृषि क्षेत्रको विकासमा गाँउपालिकाको ध्यान जानु पर्ने माग गर्दै मंगलबार बाह्रदर्शी गाँउपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीलाई ज्ञापनपत्र बुझाइयो ।
बाह्रदर्शी गाँउपालिकामा बसोबास गर्ने ९५ प्रतिशत नागरिक कृषिमा आधारित छन् । कृषकको जीवनस्तर उकास्ने खालका कार्य सरकार पक्षबाट नभएकोे कृषकहरुले गुनासो गरेका छन् ।
बाली वीमाको व्यवस्था चाँडै लागु गरिनु पर्ने, व्यावसायिक किसानलाई अनुदानको व्यवस्था गरिनु पर्ने, सुख्खा क्षेत्रमा भूमिगत सिँचाई योजना लागु गरिनु पर्ने, गुणस्तरीय बिउवीजनमा ५० प्रतिशत छुट गरिनु पर्ने, किसान परिचयपत्र वितरण गरिनु पर्ने, पशुपक्षी बीमाको कार्यक्रम लागु गरिनुपर्ने लगातका ३१ बुुदे माग सहित कृषक समुहले ज्ञापनपत्र बुझाएको हो ।
कृषि क्षेत्रको गुणस्तर बृद्धिको लागि यस क्षेत्रमा रहेका नदीनालको उपभोग गरेर सिँचाइ गर्नमा गाँउपालिकाले ध्यान दिनुपर्ने कृषकहरुको माग छ ।
‘गाँउपालिकाले प्रत्येक वर्ष माघ महिनामा कृषि प्रदर्शनी कार्यक्रम गरेको खण्डमा कृषिको विकास हुने थियो’ ज्ञापनपत्रमा उल्लेख छ । मुल कृषक समूह बाह्रदर्शी गाँउपालिकाका अध्यक्ष महम्मद रफी, सदस्य प्रेम पौड्याल, केशव बराल लगायत समितिका २१ जना सदस्यको प्रतिनिधित्व रहेको थियो ।
ज्ञापन पत्र बुझदै बाह्रदर्शी गाँउपालिकाका अध्यक्ष राजवंशीले यस वर्ष शिक्षामा बढी लगानी गरेका कारण कृषि क्षेत्र पछि परेको स्वीकारे । राजवंशीले यस क्षेत्रको शिक्षा खच्किएको कारण पहिलो प्राथमिकता शिक्षालाई दिएको जनाए । उनले भने, ‘म पनि किसानको छोरा हुँ, किसानले लामो वर्ष देखि भोग्दै आएको समस्यासँग म पनि परिचित छु ।’ आगामि आर्थिक वर्षमा कृषिको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता राजवंशीले जनाए ।