
सप्तरी, २३ पुसः विगत एक सातादेखी बढेको अत्याधिक चिसोका कारण कठ्याग्रिंएर सप्तरीमा थप तीन जनाको मृत्यु भएको छ । यो सँगैै चिसोका कारण सप्तरीमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
जिल्लाको कंचनरुप नगरपालिका नगरपालिका वडा नं. ४ जगतपुरका ललित चौधरीको ७ महिने छोरा गणेश चौधरीको मृत्यु भएको हो । उनी चिसोका कारण बिरामी भएपछि उपचारका लागि बवराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तजनले बताएका छन् । यस्तै खडग नगरपालिका वडा नं. ४ का ६० वर्षिय मुसहरु चौधरी र डाक्नेश्वरी नगरपालिका ८ का ५५ वर्षिय झौली यादवको चिसोका कारण मृत्यु भएको हो । यता सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले चिसोका कारण हालसम्म सप्तरीमा तीन जनाको मृत्यु मात्र भएको जानकारी दिएका छन् ।
यसअघि शनिबार अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ का ६० बर्षिय लखन ठाकुर, तिलाठी कोईलाडी गाउँपालिका २ का ५६ वर्षिय सुजन ठाकुर र वडा ७ का ३५ वर्षिय शिबु मण्डलको चिसोका कारण मृत्यु भएको थियो । यस्तै जिल्लाको महदेवा गाँउपालिका वडा नं. २ का ५८ वर्षीय सुकदेव यादब, राजबिराज नगरपालिका वडा नं. ११ झल्हीका ६५ वर्षिया कैलीदेबी खंग, वडा नं.२ का ६० वर्षिया नाजो बेगम, छिन्मस्ता गाँउपालीका १ वीरपुरका ३६ वर्षीया कुलदिप राय, सोही वडाका ३५ वर्षीय रामदयाल राम र सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको चिसोका कारण मृत्यु भएको थियो ।
यता चिसो हावासँगै शितलहरी बढेपछि बिहीबारदेखी सप्तरी जिल्लाका सबै ४ सय १२ सामुदायिक विद्यालय बन्द गरिएको छ । चिसोका कारण सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु विद्यालयसम्म पुग्न निक्कै कठिनाई उत्पन्न भएपछि बिहीबारदेखी बन्द गरिएको विद्यालय आजदेखी पुनः चार दिनका लागि बन्द गरिएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले जानकारी दिए ।
आजदेखी झन् चिसो बढेपछि जिल्लाका निजि विद्यालयहरु पनि तीन दिनका लागि बन्द गरिएको प्यावसन सप्तरीका अध्यक्ष पंचदेव यादवले जानकारी दिए । यता एनप्याबसन अन्तरगतका विद्यालयहरुमा आजदेखी परिक्षा संचालन भइरहेकोले विदा दिन नसकिएको एनप्यावसन सप्तरीका अध्यक्ष बौकु साहले जानकारी दिए ।