
- तिलविक्रम थेवे
प्रतिनिधीसभा र प्रदेशसभाकोे चरणवद्ध निर्वाचन गत मंसिर १० गते र मंसिर २१ गते सम्पन्न भयो ।
निर्वाचनताका प्रायः राजनीतिक पार्टीहरुले आफनो घोषणापत्रमा राजनीतिक स्थिरता, स्थिर सरकार, आर्थिक विकास र समृद्धीलाई प्राथमिकतामा राख्दै स्वदेशमै रोजगारीको वातावरण श्रृजना गरेर नेपालवाहिर (भारत वाहेक) वैदेशिक रोजगारीमा रहेका चालिस लाखभन्दा बढी युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर जुटाउने प्रतिवद्धता जनाउदै भोट मागेका थिए ।
खासगरी बाम गठबन्धनका नेकपा एमाले र माओबादी केन्द्रले चुनावी अभियानमा विभिन्न आश्वासनहरुको बावजुद अव नेपालमा चौतर्फी विकास हुने र अबोप्रान्त युवाहरु रोजगारीको लागि विदेश जान नपर्ने अझ लाखौं युवाहरु नेपालवाहिर रहेको र उनीहरुलाई स्वदेशमै फर्काइने आश्वासन समेत दिएकाछन् । अव तिनै बाम गठबन्धनको आगामी सरकार बनिन लागेको छ । नेपालवाहिर रहेका नेपालीहरुले आगामी दिनमा नेपालमा राजनीतिक स्थिरतासंगै पाँच वर्षको लागि स्थिर सरकार बन्ने र स्थिर सरकारले आर्थिक विकास, समृद्धी एवं विभिन्न संरचनाहरुको थालनी गर्ने अपेक्षा राखेकाछन् भने अर्कोतर्फ निर्वाचनको वेलामा राजनीतिक पार्टीहरुको भोट तान्न दिइएको आश्वासनको थैली र शैलीमात्र हो यो संभव हुदैन भन्नेपनि आशंका गर्दै आएका छन् ।
स्वदेशमै रोजगारी श्रृजना गरेर लाखौं सक्षम जनशक्तिलाई देश विकासमा उपयोग गर्ने र विदेशमा रहेका युवाहरुलाई समेत स्वदेशमा रोजगारी दिने राजनीतिक पार्टीहरुको पहलकदमी नराम्रो भने होइन तर रोजगारी दिने कसरी? केका आधारमा ? र कहिलेसम्म दिन सकिन्छ त? भन्ने कुरा चाही कल्पनाभन्दा अलि बाहिर नै छ ।
विदेशतिर विकासे योजना, संरचनात्मक खाका र यसको कार्यान्वयनको प्रसंग कोटयाउनु पर्दा, कुनैपनि प्रोजेक्टको लागि सरकारबाटद स्विकृतिप्राप्त गरि सकेपछि खुलारुपमा स्विकृतप्राप्त सयौं, हजारौं व्यक्तिहरुलाई रोजगारी दिइरहेका अनेक निर्माण कम्पनीहरुसंग पारदर्शी हिसावले प्रोजेक्ट निर्माण गर्न स्पष्ट र विस्तृत खाका सहितको बोलपत्र घटाघट आव्हान गरिने प्रक्रिया छ र तिनै कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीलाई निर्माण अनुमति दिइने गरिन्छ । त्यो कम्पनीले तोकिएको मितिमा प्रोजेक्ट निर्माण कार्य सम्पन्न, निर्माणको गुणस्तर, निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग आदि इत्यादीको अध्ययन गरेर सन्तोषजनक पाइएपछि त्यो प्रोजेक्ट सम्बन्धित निकायलाई हस्तान्तरण गरिने गरिन्छ चाहे त्यो व्यक्तिको निजी प्रोजेक्ट होस् या सरकारी प्रोजेक्ट । हजारौंलाई रोजगारी दिईरहेका निर्माण व्यवसायीहरु अत्यन्त इमान्दारीताका साथ विभिन्न प्रोजेक्टहरु सम्पन्न गर्दछन् । लाखौं नेपाली युवाहरु नेपालवाहिर विभिन्न मुलुकमा यस्तैयस्तै निर्माण कम्पनीहरुमा कार्यरत् रहेकाछन् । यस्तो प्रक्रियाबाट त्यो मुलुकको संरचनाहरु मिनेटमिनेटमा सम्पन्न भइरहेका छन् भने त्यो देशको समृद्धि चरमचुलीमा पुगिरहेको दैनिकजसो नेपाली युवाहरुले देखिरहेका छन् । नेपालमा पनि यस्तै प्रक्रियावद्ध, पारदर्शी ढंगबाट विकास निर्माण कार्य भइदिए नेपालको विकासमा कायापलट हुनसक्ने थियो भन्ने कल्पना गर्न सकिन्छ अनि त्यसपछि भने युवाहरु रोजगारीको लागि विदेशतिर पनि भौतारिन पर्दैन भने विदेशमा भएकाहरु पनि स्वदेशमै फर्किन सक्ने वातावरण बन्न सक्छ ।
तर अफसोस हाम्रो मुलुकमा त्यस्तो छैन र विकास निर्माणका कार्यहरु पनि द्रुतगतिमा भइरहेको छैन । फेरीपनि राजनीतिक पार्टीहरु र नेताहरु आफु सरकारमा गई सकेपछि स्वदेशमै रोजगारी श्रृजना गर्न र नेपालवाहिर रहेका लाखौं युवाहरुलाई स्वदेशमै फर्काएर रोजगारी दिने मिठो आश्वासन दिनचाही ठूला राजनीतिक दलहरु पछि परेका छैनन् ।
विकास निर्माणको कुरा सोच्नु, त्यसको खाका कोर्न त त्यति गाह्रो कुरा होइन अझ एउटा ईटा राखेर विकास निर्माणको शिलन्यास गर्नु त नेताहरुका लागि गाह्रो कुरा हुदै होइन तर कार्य थालनी गर्ने कुरा, लगानीको लागि बजेटको व्यवस्था र विनियोजन गर्ने कुरा, त्यसलाई द्रुतगतिमा अघि बढाउने कुरा र सम्पन्न गर्ने कुरा चाही प्रधान कुरा हो । हाम्रो देशमा विकास निर्माणको लागि संरचनाको प्रारम्भ गर्न भनेर धेरैजना नेता, मन्त्री, प्रधानमन्त्रीले ईटा राखेर, पुजाआजा गरेर अनगिन्ती प्रोजेक्टहरुको शिलन्यास गरेकाछन् तर सिलान्यासपछि त्यस्ता योजनाहरु राजनीतिक खिचातानी, बजेटको अभाव, स्पष्ट खाका र प्रोजेक्टहरुको अपरिपक्वता र अपुर्णताले गर्दा वेवारिसे भएर थन्किएकाछन् अझ कति साना तिना देखि मेघाप्रोजेक्टहरु त रद्ध समेत भैसकेका पनि छन् ।
शिलन्यास भैसकेका विकासे योजनाहरु नै अलपत्र परिरहेको र त्यँहा खुल्नसक्ने हजारौं रोजगारीको संभावनाहरु टरेर गइरहेको अवस्थामा नेपालवाहिर रहेका लाखौं युवाहरुलाई स्वदेशमा फर्काउने, स्वदेशमै रोजगारीको व्यवस्था गर्ने वातावरण बनाउने भन्ने नारा नेपालवाहिर रोजगारीमा रहेका लाखौं युवाहरुलाई अलमलाउने र आफनो दुनो सोझयाउने राजनीतिक पार्टी र नेताहरुको रणनीतिमात्र हो ।
नेताहरु जवजव विदेश भ्रमणमा जान्छन् त्यँहा वेल्चा चलाउनेदेखि लिएर विभिन्न क्षेत्र र व्यवसाय गरिरहेका नेपालीहरुसंग भेटदा, पिडीत नेपालीहरुसंग भेटदा, राजनीतिक पार्टीहरुको आ–आफनो भातृ संगठनहरुसंगको छलफलमा, सम्बन्धित मुलुकमा रहेका नेपाली राजदुतावास हरुसंगको भेटघाटमा अव स्वदेशमै रोजगारीको वातावरण श्रृजना गरेर सवैलाई स्वदेशमै फर्काउने मिठामिठा कुरा गर्छन् त्यसवेला अव सरकार र नेताहरुले विदेशमा रहेका नेपालीहरुको वाध्यता र विवशतालाई नजिकबाट बुझेका रहेछन् भन्ने लाग्छ । ती विदेश सयर गर्ने नेताहरुको मनमष्तिस्कमा अव यो विषयको गहिरो छाप परेको छ भन्ने पनि लाग्छ तर तिनै नेताहरु र तिनीहरुकै पार्टीको सरकार बनिसकेपछि र तिनै नेताहरु सरकारमा पुगिसकेपछि यो कुरा चटक्कै भुल्छन् । ती विदेश सयर गरेर त्यँहा रहेका नेपालीहरुको अवस्था दिनचर्या, वाध्यता र विवशतालाई बुझेका धेरै नेताहरु मुलुकमा मन्त्री, प्रधानमन्त्री नै भइसकेका छन् र अव फेरी तिनै नेताहरु सरकारको उपल्लो तहमा रहनेछन् तर पनि यो स्थितिमा कतिपनि परिवर्तन आएन नत आउछ नै ।
राजनीतिक पार्टी र नेताहरुले विमानस्थलबाट दिनहँु सयौंको संख्यामा लर्को लागेर वैदेशिक रोजगारीको लागि विदेशतिर उडेको देखेका पनि छन् । दक्षिणतिरको पुर्वदेखि पश्चिमसम्मकै नाकाबाट दिनहँु भारततर्फ रोजगारीको लागि हुलका हुल पोको पुन्तरो बोकेर मुग्लान लागेको नेपाली युवाहरुको लर्कोपनि नदेखेका होइनन् । लक्का जवान युवामात्र होइन पचास देखि साठीवर्षका नेपालीहरुपनि वैदेशिक रोजगारीमा जान लाइनमा उभिएका ती नेताहरुले नदेखेका होइनन् र वैदेशिक रोजगारीको लागि नेपालीहरुको यस्तो लर्को देखेर दयाभावमा चपारे प्रवृति देखाउदै गोहीको आँशु बगाउने पनि तिनै नेताहरु हुन् । तिनै नेताहरु सरकारमा गइसकेपछि सरकारको प्राथमिकतामा यस्तो विषयले खासै प्राथमिकता चाही पाउदैन ।
रोजगारीको वातावरण बनाउन देशमा विकासको र संरचनात्मक कार्यहरुको थालनी हुनुपर्दछ र यसका लागि सरकारसंग स्पष्ट विकासको खाका, पर्याप्त आर्थिक बजेट र कामको थालनी र कार्यान्वयन द्रुतगतिमा हुनुपर्दछ । तर नत सरकारसंग पर्याप्त आर्थिक बजेट छ नत राजनीतिक पार्टी र नेताहरुमा स्पष्ट खाका र भिजन नै छ नत कायान्वयन नै हुन्छ । राजनीतिक पार्टी र नेताहरु विकासे कुरा गर्न पछि पर्दैनन् तर त्यस्को थालनी कसरी गर्ने भन्ने ज्ञानको अभाव पनि संगसंगै छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरु रेमिटेन्स मार्फत देशको अर्थतन्त्रलाई राम्ररी धानिरहेको कुरा राजनीतिक पार्टी र नेताहरुलाई राम्रो हेक्का छ । वेल्चा र घैती चलाउने नेपाली युवाहरुबाट मुलुकले ६ खर्बभन्दा बढी रेमिटेन्स प्राप्त गरेका छन् । परिवारको सुखद भविष्यको लागि खाडी मुलुक, मलेसियामा अत्यन्त जोखिमपुर्ण काम गरीरहेका नेपालीहरुबाट बढी रेमिटेन्स भित्रिएको जगजाहेर छ । बरु खाडीमुलुक र मलेसियामा रहेका नेपालीहरुबाट भित्रिएजति रेमिटेन्स ठूल्ठूला राष्ट्र भनिने मुलुकमा कार्यरत् नेपालीहरुबाट भित्रिएको छैन तरपनि जोखिमपुर्ण काम गरिरहेका नेपालीहरुप्रति सरकारको कतिपनि चिन्ता नहुनु चाही विडम्वनानै हो ।
सरकारको मुख्य प्राथमिकता रेमिटेन्स भित्रयाउने कुरामा हो तर रेमिटेन्स भित्रयाउने नेपालीहरु कहाँ ? कसरी ? काम गरिरहेका छन् त्यो प्राथमिकतामा परेको छैन ।
नेपालीहरु विदेशमा गएर वेल्चा र घैती चलाउदै काम गर्नुभन्दा बरु स्वदेशमै वेल्चा र घैती चलाउनमा गर्व गर्छन् आफनै देशमा आफनो पसिना बगाउन रमाउछन् ।
स्वदेशमै रोजगारी श्रृजना गरेर स्वदेशमा फर्काउने राजनीतिक पार्टीहरु, नेता र सरकारको कुरा त आश्वासन मात्र हो । एकातिर स्वदेशमा रोजगारीको वातावरणको कुनै पुर्वाधारनै कोरिएको छैन भने अर्कोतिर स्वदेशमै लाखौं युवाहरु वेरोजगार भएर भौतारिएर बसेकाछन् ।
अको कुरा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले देशमा रेमिटेन्समात्र भित्रयाएका होइनन् प्रशस्त सिप र वस्तुगत ज्ञानपनि आर्जन गरिरहेका छन् । यदी सरकारले स्वदेशमै रोजगारीको वातावरण श्रृजना गरेर ती नेपाली युवा जनशक्तिलाई देशको विकास निर्माणमा सरिक गराउने हो भने ती युवा जनशक्तिले देश निर्माणको काममा अतुलनिय योगदान पुरयाउन सक्नेछन् भने देशले केही वर्षमै अग्रगामी विकास र समृद्धीको छलाङ मार्नेछ । नत्र देशमा अझै केहीवर्ष राजनीतिक परिवर्तन, सरकार परिवर्तनको एजेण्डाले मात्र अग्रगामी छलाङ मारेको, नेताहरुले पद र कुर्सीको मात्र अग्रगामी छलाङ मारेको वाहेक अरु केही देख्न सकिन्न ।
नेपालवाहिर रहेका लाखौ नेपालीहरुलाई स्वदेशमा फर्काउने र रोजगारीको वातावरण बनाउने भनेर राजनीतिक पार्टीहरुले जनतासामु निर्वाचनताका प्रतिवद्धता जाहेर गरेका वचन आगामी बन्ने सरकार र यसका राजनीतिक पार्टीहरुले कसरी?, केका आधारमा? कहिलेसम्ममा?, कस्तो किसिमले? पुरा गर्दाहुन् हेर्न बाकी नै छ किनकी अवको सरकार पाँचवर्ष सम्मको लागि स्थिर सरकार वन्न सक्ला भन्ने पनि अपेक्षा गरिएको छ ।
अहिलेलाई आगामी सरकारको कार्यसफलताको शुभकामना । (लेखक एघार वर्षदेखि कतारमा कार्यरत पत्रकार हुन्)