इलाम, २८ पुसः सार्वजनिक स्थलमा सुर्तीजन्य वस्तुको प्रयोग नगर्न तथा नगराउन इलाम जिल्लामा विगत ११ वर्षदेखि काम हुँदै आएको छ । प्राथमिक स्वास्थ्य स्रोत केन्द्र नेपाल काठमाडौंको आयोजनामा जिल्ला स्तरमा गठन भएको स्वास्थ्य अधिकार तथा सुर्तिजन्य वस्तु नियन्त्रणका लागि जिल्ला सञ्जाल इलामले उक्त काम गरिरहेको छ ।
जस अनुरुप विगत केही बर्षदेखि इलामका सार्वजनिक स्थलमा सुर्तिजन्य वस्तुको प्रयोग हुन छाडेको छ । यसै क्रममा प्राथमिक स्वास्थ्य स्रोत केन्द्र नेपाल काठमाडौंले देशभरका विभिन्न जिल्लामा गठन भएको स्वास्थ्य अधिकार तथा सुर्तिजन्य वस्तु नियन्त्रणका लागि जिल्ला सञ्जालको सहयोगमा सन् २०१९ मा स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन गर्ने भएको छ । सो क्रममा पुस्तक प्रकाशनका लागि सञ्जाल गठन भएको जिल्लामा कार्यालय पनि स्थापना भएको छ ।
यसैक्रममा इलाममा पनि महिला जागरण संघको भवनमा कार्यालय स्थापना भइसकेको छ भने त्यसको संयोजकमा प्रज्ववल भटटराईलाई संयोजक तोकेको छ ।
सञ्जालका इलाम जिल्ला उपाध्यक्ष सुदिप श्रेष्ठका अनुसार स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन भएमा यो पुस्तक विश्वमै पहिलो बन्ने पनि बताए । स्वास्थ्य अधिकारका बारेमा विषयहरु पुस्तकमा समेटिने भएकाले इलाममा स्वास्थ्य अधिकारसँग सम्बन्धित हरेक किसिमका घटनाको संकलन आउँदो मार्च १ तारिखबाट गर्ने उपाध्यक्ष श्रेष्ठले बताए ।
स्वास्थ्यका घटनाको संकलन गर्दा सञ्चार माध्यममा प्रकाशित तथा प्रशारण गरिएका समाचार, जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँट र अस्पताल तथा स्वास्थ्य केन्द्रको इमरजेन्सी वार्डलाई मुख्य श्रोतको रुपमा लिइने सञ्जालले बिहीबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । सञ्जालले इलाममा सुर्ती नियन्त्रण तथा नियमन २०६८ आउनु अगाडिदेखि नै सूर्ती नियन्त्रण सम्बन्धि काम गर्दै आएको थियो ।