ठुलो टुँडिखेल नगरको स्वामित्वमा ल्याउन पहल : मेयर बस्नेत

इलाम, ५ माघः इलाम नगरपालिकाका मेयर महेश बस्नेतले नगर कार्यपालिकाले नगरका १२ वटै वडाहरुमा एक–एक खेल मैदान तथा कवर्ड हल बनाउने नीति रहेको बताए । जस अन्र्तगत यस आर्थिक वर्षमा ३ वटा वडाहरुमा खेल मैदान निर्माण गर्नको लागि बजेट समेत विनियोजन भएको उनले बताए । जिल्ला फुटबल संघ इलामको छैटौ अधिवेशन तथा साधारण सभाको अवसरमा इलाम सदरमुकाममा बिहीबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । यस्तै नेपाली सेनाको स्वामित्वमा रहेको ठुलो टुँडिखेल नगरपालिकाको मातहतमा ल्याउने र सेनाको लागि पायक पर्ने स्थानमा जग्गा खरिद गर्नकोे लागि माथिल्लो निकायसँग पत्राचार भईसकेको र नगरकै वडा नं. १० राजदुवाली टापुमा करिब ४९ करोड रुपैंयाँ लागतको वहुउद्देश्यीय रंगशाला निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको र यसको लागि भारतीय राजदुतावास समक्ष पेश गर्ने समेत मेयर बस्नेतले बताए । 
सोही अवसरमा संघले तीन जना पुर्व खेलाडीहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा पुर्व खेलाडीत्रय इलाम नगरपालिकाका मेयर महेश बस्नेत, इलाम नगरपालिका वडा नं. ७ का राम खत्री तथा सुर्योदय नगरपालिकाका बालकृष्ण राई रहेका छन् । उनीहरुलाई पुर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष जलकुमार गुरुङ तथा मेयर बस्नेतले खादा ओडाएर सम्मान गरेका हुन् । जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरोज खड्गीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि मेयर बस्नेत, विशेष अतिथि पुर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष जलकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति इलामकी कार्यालय सचिव अमृता घिमिरे, पत्रकार राजेश पराजुली, नेपाल बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष मदन खडका रहेका थिए । अखिल नेपाल फुटबल संघ एन्फाको महाअधिवेश आगामी चैत १४ गते हुदैछ । यसलाई मध्यनजर गरेर जिल्लाको फुटबल संघहरुको अधिवेशन गरिएको क्षेत्रीय फुटबल समितिका अध्यक्ष गुरुङले जानकारी दिए । चियाबारी दैनिकबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता