
इलाम, १ चैतः इलाम बजार साना शहरी खानेपानी तथा सरसफाई आयोजनाले १२ दिनका दुई करोड संकलन गरेको छ । एशियाली विकास बैंकको सहयोगमा ८५ करोड रुपैंयाँको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानिय जनताबाट कुल लागतको ५ प्रतिशत रकम संकलन गर्नु पर्ने भएकाले सो रकम संकलन गरिएको हो । खानेपानी सञ्चालन गर्नका लागि उपभोक्ता समिति नै गठन गरेर रकम उठाइएको हो । स्थानिय प्रत्येक खानेपानी मिटरबाट १५ हजारका दरले रकम संकलन गरिएको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जानकारी दिए । ८५ करोडको पाँच प्रतिशत स्थानियबाट साथै नगरपालिकाको नगर विकास कोष मार्फत २५ प्रतिशत ऋण सहयोग जुटाएर खानेपानी आयोजना सम्पन्न गर्नुपर्ने प्रावधान छ । उपभोक्ता समितिले चार करोड भन्दा माथी रकम संकलन गर्नुपर्ने हुन्छ ।
बुधबार सम्ममा २ करोड रकम संकलन भएको उनले जानकारी दिए । चाँडो रकम संकलन गरेर खानेपानी ल्याउन नगरवासीले सहयोग गर्नुपर्नेमा अध्यक्ष थापाले जोड दिए । पानी यहाँको भविष्यसँग जोडिएको विषय भएकाले पनि सवै नगरबासीले रकम संकलन गर्नुपर्ने उपभोक्ता समितिका सचिव तिलक ठकुरीको भनाई छ । योजना सम्झौता भएको दुई वर्ष भित्रमा आयोजना सम्पन्न गर्ने लक्ष लिइएको छ । खानेपानी सञ्चालनका लागि सन्दकपुर गाउँपालिकामा रहेका तीनवटा मुहानबाट पानी आपुर्ति गरिने छ । हाल पानी अभाव भएका कारण इलाम बजारका बासिन्दा नुहाउन र कपडा धुन धारा वा खोलामा जानु पर्ने बाध्यता छ । यो बाध्यताबाट मुक्त हुन समेत उपभोक्ता सचेत हुनु पर्ने सचिव ठकुरीको भनाई छ ।