
बिर्तामोड, ३० फागुनः बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको निर्मम हत्यामा संलग्न ३ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय बिर्तामोडले पत्रकार सम्मेलन माझ २६ वर्षीय सुनचाँदी व्यवसायी साजन मुखियाका हत्यामा संलग्न आरोपीलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका सैनिकमोडका २९ वर्षीय पारसकुमार देव, बिर्तामोड नगरपालिका–८ त्रिवेणी टोलका १९ वर्षीय दिपेश पौडेल, बिर्तामोड –३ सैनिकमोड बस्ने वर्ष २३ का प्रकाश भनिने चिरञ्जिवी ओली छन् । प्रहरीले देव र पौडेललाई बिर्तामोडबाट र ओलीलाई तेह्रथुमको संक्राति बजारबाट पक्राउ गरेको हो । देवले उनकै बिर्तामोड–५, स्थित तमुटोलमा रहेको खाली घरमा मुखियालाई लगेका थिए । उनले त्यसबेला बिर्तामोड ५ बस्ने रुपनारायण दाहालको नाममा रहेको मे.७ प ८७५४ नम्बरको स्कुटरको पछाडी राखेर फागुन २० गते साढे १ बजे त्यहाँ पु¥याएका थिए । प्रहरीले मे.६ प ८७५४ नम्बरको एउटा स्कुटर, सुनको टिल थान १ र गरगहना, मृतक मुखियाको पर्स, घडी बरामद गरेको छ ।

मुखिया र देव बिच घनिष्ट मित्रता रहेको खुलेको छ । सुनचाँदीको बिषयमा आफ्नै साथीबाट मुखियाको हत्या भएको प्रहरीले जनाएको छ । मुखिया सुनचादीँ व्यवसायी संघ झापाका सदस्य हुन् । सुन किन्ने बाहानामा मुखियालाई पारसले बिर्तामोडको एभरेष्ट बैंक नजिकबाट स्कुटरमा चढाएर लगेका थिए ।
गत २० गते श्रीमति रवीनालाई बजार जाने भन्दै घरबाट बाहिरिएका मुखियाको हत्या गरी शव इलामको रोङ गाउँपालिका –३ कोल्बुङमा फालिएको अवस्थामा भेटिएको हो । मेची राजमार्गबाट अन्दाजी १०० मिटर तल जुटको बोरा भीत्र सड्न लागेकोे अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ‘पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको हो ।’
बिर्तामोड स्थित कृषिथोक लाइनमा रहेको राधे रिद्धिसिद्धी ज्वेलर्सका संचालक पारस देवको योजनामा मुखियाको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापा प्रमुख विष्णुकुमार केशीले बताए । ‘२० गते १ः३० बजे सुन किन्ने बहानामा सुनियोजित तवरले देवले मुख्यिालाई बिर्तामोड स्थित एभरेष्ट बैंक नजिकबाट उठाएको हो’ उनले भने । देवको खाली घर तमुटोलमा लगेर त्यहीँ कुटपीट गरी हत्या गरेको प्रहरीले बताएको छ । हत्या पश्चात मुखियालाई कार्टुन बाध्न प्रयोग गरिने प्लाष्टिकको सेतो डोरीले बाँधेको र मुखियाको साथमा रहेको नगद, सुनको टिल र गरगहना लुटेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । देवले चलाउने भारतीय नम्बर प्लेटको गाडीमा लगेर सेही दिन साँझ ओली र पौडेलले लास भएको गाडी रोङ गाँउपालिकामा वडा नम्बर ३ को कोल्बुङ अर्यालचोक नजिक लगेर सडकको दक्षिण तर्फ रहेको भीरबाट फ्याकेको प्रहरीले जनाएको छ ।
प्रारम्भीक अनुसन्धानका क्रममा मुखिया र देवले सुनको कारोबार गर्ने गरेको पुष्टि भएको छ । मुख्यिाले छोटो समयमा अधिक आर्थिक उपार्जन गरेको र उक्त धन आफूले आर्जन गर्ने उद्देश्यले ओली र पौडेललाई पैसा दिइ थप रकम दिने प्रलोभन देखाई हत्या गरेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको इप्रकाका डिएसपी कृष्णप्रसाद कोइलाले बताए । घटनामा अरुको पनि संग्लनता हुन सक्ने कोइरालाले जनाए । पक्राउ पर्नेलाई मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट मंगलबार नै म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना योजनाबद्ध रहेको प्रहरीको दावी छ । प्रहरीले विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इप्रका बिर्तामोडको विषेश अनुसन्धान टोली गठन गरी घटनामा संलग्नको खोजी गरेको थियो । मुखियाकी श्रीमति रविनाले श्रीमान्को खोजतलास गरीपाउँ भन्ने बेहोराको हुलिया सहितको निवेदन फागुन २१ गते बिर्तामोडमा दर्ता गराएकी थिइन् । साजन रिद्धिसिद्धि ज्वेलर्स जान्छु भनेर २० गते हिडेका थिए । उनी बिर्तामोड–५ का स्थायी बासिन्दा हुन् । उनको सोही वडामा देवा ज्वेलर्स छ । दिउँसो हिँडेका साजन बेलुका घर नआएको र मोबाइलमा समेत सम्पर्क नभएपछि श्रीमतिले प्रहरीलाई खबर गरेकी थिइन् । साजनलाई अपहरण गरेपछि चिरञ्जिवी र पारस बीच नयाँ नम्बरबाट पटक–पटक सम्पर्क भएको प्रहरीले जनाएको छ । घटना भएको दिन साजनको मोबाइल सम्पर्कमा रहेका नम्बरको विवरण विश्लेषण गरेर प्रहरीले त्यस्तो पत्ता लगाएको हो ।
यसैबीच हत्यारालाई कारवाहीको माग गर्दै बिर्तामोड उद्योग बाणिज्य संघ र सुनचाँदी व्यवसायी संघले मंगलबार बिर्तामोड बन्द गराएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले हत्याको विरोधमा विरोधसभा गरेको छ । ब्यवसायीले हत्यारालाई आजीवन कारागारको माग गरी प्रहरी प्रशाशनलाई दबाब दिएका छन् । हत्या गर्ने, चन्दा असुल्ने जस्ता कुकर्मले व्यवसायीको सुरक्षामा चुनौति थपिएको बिर्तामोड उद्योग वाणिज्यसंघका अध्यक्ष कुमार भट्टराईले बताए । खुल्ला सिमानाको कारण बिर्तामोड अपराधिक मानसिकता बोक्नेको बासस्थान बनेको भट्टराईले बताए । उद्योगी व्यवसायीले हत्या विरुद्ध सडकमा उत्रिएर दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । ठूलो संख्यामा भेला भएका उद्योगी व्यवसायीले कायरतापूर्ण हत्यामा संलग्नलाई कारवाही गर्न ढिला गरिए त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् । वाणिज्य संघका प्रतिनिधिले मंगलबारनै जिल्ला प्रशासनको ध्यानाकर्षण समेत गराएको संघका महासचिव प्रशान्त भण्डारीले बताए ।