
इलाम, २४ फागुनः इलाममा दुई जलविद्युत आयोजना निर्माण गरेको पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले स्थानीयबासीका लागि निष्कासन गरेको साधारण सेयर बाँडफाँड गरेको छ । नेपाल धितोपत्र बोर्डको उपस्थितिमा बुधबार सेयर बाँडफाँड गरिएको हो । प्रभावित सन्दकपुर गाउँपालिकाका ६ हजार ३ सय ३५ जनाबाट २४ लाख ९९ हजार ६ सय ८० कित्ता सेयर किन्न आवेदन परेको थियो । २० कित्तादेखि १३० कित्ता माग गर्ने सबै आवेदकले सेयर पाएका छन् ।
स्थानीयले प्रतिव्यक्ति न्यूनतम २० देखि अधिकतम १४० कित्तासम्म पाए
यसैगरी, १ सय ४० देखि ५ हजार ५ सय कित्ता माग गर्ने ३ हजार २ सय ६९ आवेदकमध्ये २ हजार ३ सय ८२ जनालाई प्रतिव्यक्ति १४० कित्ता र बाँकीलाई प्रतिव्यक्ति १३० कित्ता सेयर बाँडफाँड गरिएको छ । इलाम नगरपालिकाका ९ हजार १ सय ४३ बासिन्दाबाट २७ लाख १९ हजार ९ सय कित्ता सेयर माग भएको थियो । २० देखि ५० कित्ता माग गर्ने सबैले सेयर पाएका छन् । यस्तै, ६० देखि ५ हजार ५ सय कित्ता माग गर्ने ६ हजार १ सय ३७ आवेदकमध्ये ६ सय २४ जनालाई प्रतिव्यक्ति ६० कित्ता र बाँकीलाई प्रतिव्यक्ति ५० कित्ता बाँडफाँड गरिएको छ ।
कम्पनीले सय रुपैयाँ अंकित ११ करोड रुपैयाँको ११ लाख कित्ता सेयर निष्कासन गरेको थियो । यसमध्ये प्रत्यक्ष प्रभावित बासिन्दाका लागि ६ लाख ६० हजार कित्ता (६०%) र इलाम नगरपालिकाका बासिन्दाका लागि ४ लाख ४० हजार कित्ता (४०%) छुट्ट्याइएको थियो । गत माघ ५ देखि २३ गतेसम्म आयोजना प्रभावित क्षेत्र इलामका स्थानीयका लागि खरिद आह्वन गरिएको थियो । १५ हजार ४ सय ७८ आवेदकबाट ५२ लाख १९ हजार ५ सय ८० कित्ता साधारण सेयरका लागि आवेदन परेको थियो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको थियो । कम्पनीले इलाममा १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ निर्माण गरेको छ ।
